इटहरी/ विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ ।

नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन् ।

अब ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए ।

उनकाअनुसार नगर शिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो ।

‘इटहरी भित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकै खालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी पौडेलले भने । उनले विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेकोसमेत बताए ।

‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनुन् भन्ने उद्देश्य पनि हो,’ पौडेलले भने ।

निजी स्कुलहरूले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेको तथ्यसमेत बाहिरिएपछि बिचौलिया प्रवृत्ति रोक्नका निम्ति यो काम गरिएको मेयर पौडेलले बताए ।

साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरिएको उनले बताए ।

विद्यालय मातहतमा कुनै स्टेशनरीका सामाग्री बेच्न नपाइने र भर्ना शुल्क वापत एकपटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थी वापत पटकपटक कक्षा वृद्धि हुँदै जाँदा भर्ना शुल्क लिन नपाइने बताइएको छ ।

विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय गरेको मेयर पौडेलले बताए ।

विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरण गर्न रोक लगाएको हो ।