ताप्लेजुङ/  हिमाली जिल्ला ताप्लेजुङमा उन्नत जातको मुर्रा राँगा ल्याइएको छ । जिल्लामै पहिलोपटक यहाँको मैवाखोला गाउँपालिकाले उन्नत जातको मुर्रा राँगा (भैँसी) ल्याएको हो ।

मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुमा उक्त मुर्रा जातको राँगा ल्याइएको हो

। ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार चालू आर्थिक वर्षका लागि गाउँपालिकाबाट विनियोजित रकम र किसानसमेतको साझेदारीमा मुर्रा राँगा ल्याइएको हो ।

किसानको २५ प्रतिशत र बाँकी वडा कार्यालयको गरी कुल एक लाख ५० रुपैयाँमा एउटा राँगा खरिद गरिएको वडाध्यक्ष तामाङले बताए । 

उनका अनुसार सुनसरीस्थित तरहरा भैँसी अनुसन्धान केन्द्रबाट मुर्रा राँगा खरिद गरिएको हो । उन्नत जातको मुर्रा राँगा गाउँसम्म ल्याई पुर्‍याएसँगै ढुङ्गेसाँघुस्थित साँझ–बिहानी कृषि तथा पशुपन्छी फर्मका सञ्चालक दिनेश वनेमलाई आइतबार हस्तान्तरण गरिएको उनले जानकारी दिए । 

किसानले पाल्दै आएको भैँसीको नश्लसुधार साथै दुध उत्पादनमा वृद्धि गरी उनीहरूको जीवनस्तर उकास्नमा सहयोग पु¥याउने उद्देश्य राखेर उन्नत जातको मुर्रा राँगा ल्याएको वडाध्यक्ष तामाङको भनाइ छ । उनले गाउँमा मुर्रा राँगा ल्याएकाले स्थानीय किसान पशुपालन व्यवसायप्रति थप प्रेरित भएको पनि बताए ।

उन्नत जातको राँगाका कारण भैँसीको नश्लसुधार भएर दुध उत्पादन बढ्ने र पशुपालनबाट राम्रो आम्दानी हुने अपेक्षा किसानले राखेका छन् ।

यता मैवाखोला गाउँपालिकाले उन्नत जातको मुर्रा राँगा ल्याएपछि जिल्लामा यसको चर्चा सुरु भएको छ ।

मुर्रा राँगाबाट स्थानीय जातको भैँसीको नश्लसुधारका लागि प्रभावकारी साथै यहाँको वातावरण मुर्राका लागि सहज हुने–नहुने विषयमा चर्चा र चासो हुन थालेको हो ।

यसअघि छिमेकी देश भारतले नेपाललाई उपहारस्वरुप दिएको १५ वटा उन्नत जातका मुर्रा राँगाको चर्चाले देशभर व्यापकता पाएको थियो ।