धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्दोलन गर्ने थलोको रुपमा मात्र परिचित छैन एकले अर्कालाई सक्ने र आफ्नो स्वार्थ पूरा गर्ने खेलले मलजल समेत पाएको छ ।

पछिल्लो समय पूर्व रेक्टर प्रा.डा. गुरु खनालको शैक्षिक योग्यताको विषयलाई लिएर आएको समाचारले समेत यो पुष्टि गरेको छ ।

प्रतिष्ठानमा यो या त्यो वहानाले आन्दोलन भइरहन्छ । कहिले शिक्षक, कहिले चिकित्सक त कहिले कर्मचारीको आन्दोलन भइ नै रहन्छ ।

पछिल्लो समय शिक्षक तथा कर्मचारीले बढुवा प्रक्रियाको विषयलाई लिएर लामो आन्दोलन गरे । आन्दोलनरत पक्ष र प्रतिष्ठानको पदाधिकारीहरुबीचको ६ बुँदे सहमतिले आन्दोलत त रोकियो तर व्यक्तिगत स्वार्थलाई उछालेर हतकण्डा गर्ने काम भने रोकिएको छैन ।

शिक्षाध्यक्षसँगै कामु उपकुलपति समेत भइसकेका प्रा.डा खनालको चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।

उनी हाडजोर्नी विभागको विभागीय प्रमुख बाहेक प्रतिष्ठानको अहिले कुनै पदमा छैनन् ।

आन्दोलनका समयमा आन्दोलतरपक्षलाई  उछालेर निमित्त उपकुलपतिलाई हँटाएर आफू उपकुलपति बन्ने खेलमा प्रा.डा. खनाल लागेको भन्ने चर्चा बाहिर आएको थियो ।

लगत्तै अहिले प्रा.डा. खनाललाई एसएलसी पास नगरेको व्यक्तिलाई उपकुलपति बनाउने खेल भएको भन्दै अनर्गल समाचार बाहिर आएपछि प्रतिष्ठानभित्रको चलखेल छताछुल्ल हुदै गएको छ । शिक्षाध्यक्ष भएको समयमा अख्तियारले अर्थात २०७७ सालमा अख्तियारले उनको शैक्षिक प्रमाणपत्र माग गरेको कुरा यतिखेर बाहिरएको छ ।

बाहिरिएको मात्र हैन उनको विषयमा अनर्गल समाचार समेत बन्यो । 

उनले पछिल्लो समय आफ्नो चरित्र हत्या हुने गरी आएको समाचारप्रति आपत्ति जनाएका छन् । प्रतिष्ठानलाई अफ्ठयारो परिस्थितितर्फ धकेल्ने तत्वले अनर्गल ढंगले चरित्रहत्या गर्न खोजको भन्दै यस्ता तत्वलाई कारबाही नगरुन्जेलसम्म प्रतिष्ठान नसुध्रिने बताए । 

सो विषयलाई लिएर प्रा.डा खनाललले स्पष्टीकरण समेत दिएका छन् ।

पत्रकार सम्मेलनको आयोजना गरेर उनले अस्पताल प्रशासनबाट अख्तियारको चिठी बाहिरिएको र बुझ्दै नबुझी एसएलसी फेल भनेर आएको समाचारप्रति आपत्ति जनाएका हुन् ।

सम्मेलनमा उनले  २०३८ सालमा मोरङको सुन्दरपुर दुलारीमा रहेको माविबाट एसएलसी दिँदा सबै विषयमा पास गरे पनि अंग्रेजी विषयका फेल भएको बताउदै एक बर्षपछि अर्थात २०३९ सालमा अंग्रेजी विषयमा समेत पास भएको बताए ।

उनले समाचारमाध्यमले २०३८ सालको फेल भएको सर्टिफिकेट राखेर चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेकोले आफूले गम्भीर रुपमा लिँदै साइबर अपराध अन्तर्गत मुद्धा समेत हालेको बताए ।

आफू विगतमा शिक्षाध्यक्ष तथा कामु उपकुलपति हुँदा बीपीको अहित हुने काम कहिल्यै नगरेको बताउदै उनले २०४२ देखि २०४५ सालसम्म महाराजगञ्जमा फिजियो पढेको भएपनि समाचारमा ‘विहार’ कोट गरेको, २०४५ देखि २०४८ सालसम्म पोखराको इन्टरनेशनल नेपाल फेलोसिप भन्ने संस्थामा काम गरेको, २०४८ सालमा रुपमा एमविविएस रुस गर्न गएको, रुसबाट ७ बर्षपछि नेपाल फर्किएको, २०५५ सालदेखि प्रतिष्ठानको मेडिकल अफिसरदेखि आकष्मिक कक्षमा काम गरिसकेको, र २०५८ सालमा बीपीबाट पिजी र त्यसपछि अर्थोपेडिक्स  बीपीबाटै सकेको बताए ।

उनले आफ्नो पढाइको योग्यताको विषयमा मेडिकल काउन्सिलमा समेत दर्ता गरिसकेको बताउदै सबै प्रक्रिया पु¥याएर प्रतिष्ठानमा यो अवस्थासम्म आए पनि आफ्नो चरित्र हत्या गरेर फाइदा लिने तत्वले अनर्गल प्रचार गरेको बताए ।