विराटनगर/ मोरङमा बिहेमा जन्ती गएका युवाको ठक्करबाट मृत्यु भएको छ । कटहरी गाउँपालिका ४ का २५ वर्षीय अमित टुडुको मृत्यु भएको हो । 

बिहेका जन्ती बोकेको प्रदेश १–०२–००१ ख ९८४८ नम्बरको बसले टुडुलाई कटहरी ४ नयाँ बजारमा मंगलबार बिहान ४ः४५ बजेतिर ठक्कर दिएको थियो ।

जन्ति गएका मृतक टुडु सोही बसमा सवार थिए । जन्ती बोकेर झपडतलबाट कटहरीतर्फ आउँदै गरेको बसबाट ओर्लने क्रममा उनी लडेका थिए ।

लडेकै बेला टुडुलाई बसले ठक्कर दिएको एसपी पोखरेलले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार दुर्घटना हुनुभन्दा अघि बसका चालक तथा सहचालकसँग जन्तीको विवादसमेत भएको थियो ।

जन्तीले बसभित्रै पिसाब गरिदिएको विषयलाई लिएर विवाद भएको पाइएको प्रहरीको भनाइ छ । विवाद हुँदै गर्दा बसबाट ओर्लिएका टुडुलाई आफू सवार बसले नै ठक्कर दिएको हो ।

दुर्घटनालगत्तै आक्रोसित बनेका जन्तीहरुले बसमा तोडफोड गरेर क्षति पुर्याइदिएका छन् ।

तोडफोडबाट बसको सिसा फुटेको छ । चालक कटहरी ३ का २९ वर्षीय सरोज विश्वकर्मामाथि कुटपिटसमेत भएको एसपी पोखरेलले बताए । दुर्घटनालगत्तै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।