इलाम/ इलामको सूर्योदय नगरपालिका ५ ले घरमै पुगेर जन्म दर्ता गराउन थालेको छ ।

बच्चा जन्मिएको ३५ दिन भित्रमै जन्म दर्ता हुनेको संख्या शतप्रतिशत गराउने उद्देश्यले वडा कार्यालयले घरमै पुगेर जन्म दर्ता गराउन थालेको हो ।

वडा नं. ५ र समालबुङ स्वस्थ्य चौकीको समन्वयमा बच्चा जन्मिएको घरमै स्वास्थ्यकर्मी घरघरमै पुगेर बच्चाको विवरणसहित फोटो खिचेर लिएर आउने र वडा कार्यालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई घरमै गएर दिइने व्यवस्था गरिएको वडा अध्यक्ष उर्गेन बम्जनले जानकारी दिए । उनका अनुसार भविष्यमा जन्मदर्ताको समस्या नहोस् भनेर यो अभियान थालिएको हो ।

उनले भने, ‘‘बच्चा जन्मिएर पनि ३५ दिनभित्रमा वडा कार्यालयमा जन्म दर्ता नगरेको पाइए पछि हामीले यो अभियान थालेका हौ ।’’

अभियानको सुरुको दिन बिहीबार वडाध्यक्ष बम्जनले दुई सुत्केरीका घरमै पुगेर जन्म दर्ता उपलब्ध गराएका थिए ।

स्थानीय वर्षा शंकर र केशव बुढाथोकीको घरमा गएर उनले जन्मदर्ता घरमा उपलब्ध गराएका हुन् ।

श्रीमान विदेशमा भएका वर्षा शंकरले घरमै आएर वडाले सेवा दिँदा साँच्चै स्थानीय सरकारको उपस्थिति भएको महसुुस भएको बताईन ।

वडाले विवरणका आधारमा ३५ दिन भित्रमै जन्मदर्ता घरमै पु¥याइदिने व्यवस्था गरेको छ ।

जसका लागि स्थानीय वडा कर्मचारी, स्वास्थ्य कर्मचारीका लागि अभिमुखीकरण  सम्पन्न गरेको छ । गत साल वडामा ३९ जना बच्चा जन्मिएकोमा दुई जनाले मात्र ३५ दिन भित्रमा वडामा जन्मदर्ता गराएका थिए ।

वडाध्यक्ष बम्जनले उमेर घटबढ गराउन, नाम परिवर्तन गर्न र जनचेतनाको कमीका कारण ३५ दिन भित्रमा जन्मदर्ता नगर्ने गरेको पाइएको जानकारी दिए ।

स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले पिएमसी भिजिट गर्दा कुन घरमा बच्चा जन्मिएको हो भन्ने थाहा पाएपछि विवरण लिने गरिएको छ । वडा नं. ५ गत साल सूर्योदय नगरपालिकाका १४ वटा वडामध्ये सबैभन्दा बढी घटना दर्ता गराउने वडामा परेको थियो ।