धरान/ स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै धरानको व्यापार, व्यवसाय चलायमान गराउन गत फागुन ११ गते देखि शुरु भएको ‘धरान एक्स्पो २०८०’ को चौथो दिन सम्म मध्यम व्यापार गर्दै अघि बढेको छ । 

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित धरान स्टेडियम परिषरमा संचालित एक्स्पोले व्यापार मध्यम नै रहे पनि व्यापार चलायमान गराएको स्थानीयको भनाई छ ।

केही दिन अघि मात्रै धरान डे को अवसरमा उत्सव आयोजना गरिएकाले केही प्रभाव पारेको धरान १५ का रविन राई बताउँछन् । उनी भन्छन्, ‘केही असर परेको छ, तर सस्तो व्यापार पनि भएकाले बजार प्रवद्र्धनमा टेवा पुगेको छ । 

एक्स्पोमा राखिएको जुत्ता चप्पल पसलको प्रवद्र्धन गर्दै धरान १७ की जिवनकला राईले सस्तोमा पाइने भएकाले सबैलाई किन्न जान पनि आग्रह गरिन् । एउटा किन्दा एउटा फ्रि पाइने भएकाले सबैलाई सस्तो हुने उनले बताईन् । 

रैथाने उत्पादन सहित अन्य जिल्लाबाट आएका उद्यमी, व्यापारी, व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवद्र्धनका लागि स्टलहरु राखेका छन् । एक्स्पोमा धरानमा स्थानीय उद्यमीहरुले उत्पादन गरेको बेसार, तितेपातीबाट बनेका साबुनहरु, अग्र्यानिक खाद्य वस्तुहरु राखिएका छन् ।

धरान बाहिरबाट पाँचथरको मिक्लाजुङ स्थित सगुन फलफूल प्रशोधन उद्योगले किवी फलबाट तयार गरेको अग्र्यानिक जुस, वाइन सहितका पेय पदार्थ सौखिनहरूका लागि उपलब्ध छ ।

गृहिणीहरूका लागि अग्र्यानिक खाद्य वस्तु, बेसार देखी सरसफाइका साबुन लगायतका उत्पादक कम्पनीहरूबाट सुलभ मूल्यमा विक्री वितरण भइरहेका छन् ।

एक्स्पोमा नेपालमा बनेका दैनिक प्रयोगमा आउने उपयोगी वस्तु, मोटरसाइकल, घर निर्माणका प्लम्बिङ देखी इट्टा सम्मका सामाग्री बिक्री वितरण र प्रदर्शनमा छन् ।

एक्स्पोमा नेपाल, भारत बङ्गलादेश, पाकिस्तान लगायतका देशहरूबाट प्रदर्शकहरूको उपस्थिति रहेको छ । प्रत्येक दिन सांगितिक कार्यक्रमहरु संचालन गरिरहेको छ । 

एक्स्पोमा बेलुका ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै दिनभर एक्स्पो किनमेल कालागी आउने उपभोक्ताका लागी कुनै प्रकारको पार्किङ शुल्क समेत नलाग्ने आयोजकले जानकारी दिएको छ । 

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा त्यसै अनुसार ५ बजेपछि टिकट सिस्टम राखेका छौँ ।’

एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ । मेलामा यसपालि युवाहरूका लागि ट्याटु र फेस पेन्टिङ गर्ने सुविधा पनि थपिएको छ ।

स्टलमै ट्याटु खोपाउने सुविधा सहितको स्टल राखिएको हो । युवाहरूलाई फेस पेन्टिङ सिन स्टलमै गरिने सुविधा छ । चित्रकारद्वारा हातैले आर्ट गरेको चित्रकला घरमा सजाउने सौखिनहरूका लागि पोट्रेट, ल्याण्डस्केपहरु पनि विक्रीमा छन् ।