धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण   २४ औं  बुढासुब्बा गोल्डकप प्रतियोगिता यही शनिवारदेखि धरान १६ स्थित रंगशालामा सुरु हुदैंछ ।

आज प्रतियोगिताबारे अन्तिम जानकारीका लागि आयोजक धरान फुटवल क्लवले पत्रकार सम्मेलन गरेको छ । प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

क्लवको नयाँ नेतृत्वसँगै बुढासुब्बा गोल्डकप प्रतियोगितालाई एउटा उत्सवका रुपमा मनाउने क्लवका अध्यक्ष प्रताप तामाङले जानकारी दिनु भएको छ ।

२३ वटा संस्करण सक्दा आयोजकले हालसम्म उपाधी हात नपारेको विषयमा गम्भीर समिक्षा गदैं यस पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ आयोजक टिम तयारी गरिएको क्लवका महासचिव नविन राईले जानकारी दिनु भयो । 

फागुन २६ गते हुने उद्घाटन खेल आयोजक र युकेएफसी भारतबीच खेल हुने भएको छ । प्रतियोगिताको फाइनल चैत्र ३ गते हुने भएको छ ।

उद्घाटन  धरानका मेयर हर्क साम्पाङले गर्ने कार्यक्रम तय गरिएको क्लवले जनाएको छ । 

यस पटक पास र सवारी साधानको पार्किङको उचित व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आयोजक र पत्रकारको लागि गेटबाहिर अलग्गै पार्किङको व्यवस्था गरिएको र त्यहाँ शुल्क नलाग्ने पनि अध्यक्ष तामाङँले जानकारी दिनु भयो ।

यस पटक मदिरा कम्पनिहरुको विज्ञापनमा सरकारले रोक लगाए पछि प्रायोजकसमेत घटेको अवस्थामा पहिलो पुरस्कारका लागि धरान हङकङ मञ्च र दोस्रो पुरस्कार धरान समाज युकेले दिने आयोजकले जनाएको छ ।

  प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

पत्रकार सम्मेलनमा एनि स्पोट्र्स कन्काई गार्मेन्टका अध्यक्ष सन्तोष थोप्राले आयोजक क्लबका खेलाडीहरुको लागि जर्सी र ट्रयाकसुट हस्तान्तरण पनि गर्नु भएको छ ।

प्रतियोगितामा आयोजक र युकेएफसीबाहेक लिग च्याम्पियन चर्च ब्वाईज क्लब, एनआरटी काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र नेपाल पुलिस क्लब सहभागी हुने महासचिव नविन राईले जानकारी दिनुभएको छ ।