धरान/  धरानको सेउतीपुलदेखि तरहरासम्मको बाटो सुस्त गतिमा निर्माण भएको छ ।  निर्माणमा ढिलाई हुदा दिनप्रतिदिन दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

धरानको सेउतीपुलदेखि इटहरीको तरहरासम्मको पाँच किलोमिटर सडक निर्माणमा ढिलाइ हुँदा सवारी धनी तथा यात्रुलाई समस्या भएको छ । 

निर्माणका लागि जथाभावि खनेर छाडिएका खाल्डोका कारण समस्या विकराल बन्दै गएको चालक तथा यात्रुहरुले बताउने गरेका छन् ।

उनीहरुले बर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको बताएका छन् ।

तेह्रथुम जिरिखिम्तीका यातायात व्यवसायी उमेश गौतमले धरानदेखि तरहरासम्मको सडक छोटो दूरीको भएपनि तराहरासम्म पुग्न नै मुस्किल हुने गरेको छ ।

उनले भने–‘यो सडक समयमै नबन्दा सबैले सास्त भोग्नुपरेको छ, जिम्मेवार पक्ष किन मौन बसेको छ बुझ्नै सकिएन ।

सडक निर्माणमा ढिल्ला सुस्ती भएकै कारण दुर्घटनाको जोखिम समेत बढेको् जिल्ला ट्राफिक कार्यालय सुनसरीले जनाएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार  आर्थिक वर्ष २०७८/७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए ।

दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७९/८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको । दुर्घटनामा ४३ जना घाइते भएका थिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन् । 

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ ।

तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन ।

ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन ।

यो सडकको लागत १० अर्ब ५८ करोड तोकिए पनि समयमा पूरा नहुँदा लागत पनि बढ्ने देखिएको छ । कोरोना संक्रमण, मजदुरहरुको होलि डे लगायतका कारणले लागत बढेको हो । यो सडक समयमै निर्माण नहुने हो भने भविष्यमा यसले ठूलो दुर्घटना निम्त्याउने खतरा बढेको छ । 

चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ ।