ताप्लेजुङ/ पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको ५५ लाख रुपैयाँ भेटी सङ्कलन गरेको छ ।

फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० रुपैयाँ विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो ।

समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्याङ्कसमेत समितिले सार्वजनिक गरेको छ।pathibhara-veti

केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।

यसैबीच पाथीभरामा सङ्कलन भएको सुनचाँदी लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ ।

रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।