सुनसरी/ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ । 

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले सोमबार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल एपीएफ र सगरमाथाबिच हुने जनाएको हो ।

प्रतियोगिता चैत्र १० गते देखी १९ गतेसम्म रात्रिकालीन समयमा हदै छ । एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहनेछ । 

सोमबार सार्वजनिक खेल तालिका अनुसार चैत्र ११ गते आइतबारको दोस्रो क्वाटर फाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजंगा फुटबल क्लब भारतबिच हुनेछ ।

तेस्रो क्वाटर फाइनलमा चैत्र १२ गते विभागीय टिम त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबिच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम क्वाटर फाइनलमा चैत्र १३ गते झापा गोल्ड कप च्याम्पियन चर्चब्वाइज युनाइटेड र बुढासुब्बा गोल्ड कप विजेता न्यु रोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । 

इटहरी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।