इलाम/ धार्मिक सद्भावको बृद्धि र बहुधार्मिक संग्रहालय निर्माण गर्ने उद्देश्यले इलाममा बहुधार्मिक उत्सवको आयोजना गरिएको छ ।

इलाम नगरपालिका ६ सिङफ्रिङस्थित सिंहसिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा अठार पुराण समापन एवम् इलाम धार्मिक महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा दिनहुँ श्रद्धालुको बाक्लो भिड लाग्ने गरेको छ । एकै स्थानमा अठार पुराणसहित बौद्धको दोमाङ र किराँत धर्मको मुन्धुम पाठ भइरहेको छ ।

महोत्सवले इलाम जिल्लामा रहेका शक्तिपीठ तथा धार्मिक स्थलको प्रचारप्रसार र विकासमा समेत टेवा पुुग्ने अपेक्षा गरिएको छ ।

चैत ९ गतेसम्म चल्ने महोत्सवमा हिन्दुधर्मका ४५ जना पण्डित, ११ जना बौद्ध लामा गुरु र १९ जना किराँत धर्मका गुरुले पाठ गरिरहेका छन् ।

महोत्सवबाट संकलित रकमबाट हिन्दु, बौद्ध र किराँत धर्म संस्कृतिका अनेक पक्ष झल्कने गरी संग्रहालय निर्माण गरिने आयोजक समितिका अध्यक्ष सन्दीपकुमार बुढाथोकीले जानकारी दिए । महोत्सवका मुख्य वक्ताको रुपमा भागवत मञ्जरी राधिका दासी रहनुभएको छ ।

आयोजक समितिका सचिव रविन रायमाझीका अनुसार महोत्सवमा दैनिक तीन हजारभन्दा धेरै भक्तजनको उपस्थिति रहने गरेको छ ।

इलाम जिल्लासहित पूर्वका विभिन्न जिल्ला र सीमापारि भारतीय क्षेत्रवाट पनि श्रद्धालु आउने गरेका छन् ।

महोत्सवमा करिब ६५ लाख रुपियाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष गणेश सुवेदीले जानकारी दिए । महोत्सवस्थल इलाम सदरमुकामबाट तीन किलोमिटर उत्तरपूर्वमा छ ।

२०५९ सालमा इलाम नगरपालिका ६ स्थित श्री जनकल्याण प्राथमिक विद्यालय प्राङ्गणमा पुराण सुरु गरी अठार पुराणको लक्ष्य लिइएको जनाइएको छ ।

सो समयमा विश्वशान्तिको कामना गर्दै हिन्दु धार्मिक परम्परा र बौद्ध धर्म अनुसार दोमाङ पाठ गरी सुरुवात गरिएको थियो ।

विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न स्थान, माइखोला, गजुर्मुखीधाम लगायत शक्तिपीठमा १७ पुराण सफलतापूर्वक पाठ एवम् वाचन सम्पन्न गरिएको समितिका पंकज भट्टराईले जानकारी दिए ।