दमक/ झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ । 

शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व मन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोलीले भ्यू टावर पुगेका थिए ।

नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ । करिब डेढ अर्ब लागतमा भ्यू टावर निर्माण सम्पन्न भएको हो ।

पहिला अनुमान गरिएभन्दा ५ प्रतिशत बढी रकम लागेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भुपेन्द्र यादवले बताए । 

यादवका अनुसार एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ ।

१ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको उनको भनाइ छ । बि.स.२०७६ साल असार २७ गते निर्माण सुरु भएर तीन वर्षभित्र सम्पन्न गर्ने भनिएता पनि कोभिड लगायतका कारणले निर्धारीत समयमा निर्माण सम्पन्न भएको थिएन ।  

ओलीले यो भ्यू टावरमात्र नभएर कमर्सियल बिजनेश टावर भएको बताए ।

‘यो सुविधायुक्त व्यवसायीक भवन हो’, उनले भने । ओलीको निर्वाचन क्षेत्रमा उनकै परिकल्पनामा यो बनेको हो । ओली आफैले यसको शिलान्यास गरेका थिए । 

भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो रहेको छ । यो अहिलेको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो भएको बताइन्छ ।

१८ तलाको कङ्क्रीट ढलान र त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर रहेको छ ।

यो सबै निर्माण काम सम्पन्न भएर उद्घाटन गर्ने अवस्थामा पुगेको जनाईएको छ । भ्यू टावर बनाउनका लागि स्थानीयवासीले जुटाएर पाँच बिघा जग्गा निशुल्क प्रदान गरेका थिए ।

सबै प्रकारका जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक भ्यू टावरको रुपमा यो ठडिएको प्राविधिकहरुले बताएकाछन् ।

भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहेको छ ।

भ्यू टावरमा व्यापारिक प्रयोजनका पसल, सेमिनार हल, बैंक, वित्तीय संस्था लगायत व्यापारिक केन्द्र, कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, रेस्टुरेन्ट र लज रहनेछन् ।