सुनसरी/वर्किङ भिसामा विदेश पठाइदिने भन्दै औपचारिक कार्यालयसमेत नभएको टप च्वाइस एजुकेसन कन्सल्टेन्सीका सञ्चालकले ५० युवाबाट पाँच करोड रुपैयाँ ठगेको खुलेको छ ।

सञ्चालकद्वय कृष्णकुमार राई र रूपेशकुमार ठाकुरले युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टा, क्रोएसियालगायत मुलुकमा राम्रो जागिरमा पठाइदिने भन्दै ठगी गरेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राई र ठाकुरसहित उनीहरूका सहयोगी पर्वराज पाण्डे र जीवन तामाङलाई पक्राउ गरेको छ ।

करिब आठ महिनाको खोजीपछि उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

उनीहरूविरुद्ध २२ पीडितको जाहेरी परेपछि पक्राउ गरेको अनुसन्धानमा संलग्न कार्यालयका डिएसपी गोविन्द पन्थीले जानकारी दिए ।

उनका अनुसार अन्य पीडितहरू पनि जाहेरी दिन कार्यालय आएको, तर आवश्यक कागजात अभाव हुँदा दर्ता हुन सकेको छैन ।

उनीहरूले दलालमार्फत देशका विभिन्न ठाउँका युवा काठमाडौंमा भेला गर्ने, भारतको दिल्ली लैजाने, रकम दिल्लीमै असुल्ने र त्यसपछि सम्पर्कविहीन बन्ने गरेको अनुसन्धानमा खुलेको छ ।

डिएसपी पन्थीले भने, ‘कन्सल्टेन्सीका रूपमा दर्ता भएको, तर कतै कार्यालय नभेटिएको कम्पनीले युवालाई अवैध ढंगले वैदेशिक रोजगारमा पठाउने गरेको देखियो ।

सोही क्रममा केही पक्राउ परेका छन् ।

उनीहरूले ५० भन्दा धेरै युवाबाट पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको देखिन्छ । जसमध्ये २२ जनाको जाहेरी हामीकहाँ परिसकेको छ ।’

प्रहरीका अनुसार उनीहरूले विद्यार्थी भिसामा पठाउने भन्दै युवालाई दलालमार्फत सम्पर्कमा ल्याउँथे । सम्पर्कमा आएका युवालाई वर्किङ भिसामा पनि पठाउन सकिने भन्दै आकर्षक तलब प्रस्ताव गर्थे ।

प्रस्ताव मान्न तयार भएका युवालाई भारतको दिल्ली पुर्‍याउँथे । गेस्टहाउसमा राख्थे ।

महिना दिनपछि उनीहरूले युवासँग रकम माग्थे । जालमा फसेका युवाले उनीहरूलाई मागेजति रकम भुक्तानी गरिदिन्थे । जब रकम संकलन भइसक्थ्यो, उनीहरू फरार हुन्थे ।

उनीहरूले क्यानडाका लागि प्रतिव्यक्ति १० देखि २० लाख, पोल्यान्डका लागि सातदेखि १० लाख, रोमानियाका लागि सात लाख, क्रोएसियाका लागि सातदेखि १० रुपैयाँका दरले रकम उठाएको डिएसपी पन्थीले बताए ।

प्रहरीले पक्राउ परेका राई र ठाकुरलाई जनही ८० लाख, पाण्डेलाई ६ लाख र तामाङलाई एक लाख ६० हजार जरिवाना तोकेको खबर आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।