बिर्तामोड/ झापाको बिर्तामोड–४ कालीमन्दिर टोलमा एक ज्येष्ठ नागरिक महिलाको शरीर काटेको अवस्थामा शव भेटिएको छ ।

स्थानीयबासी तथा प्रहरीले ६८ वर्षीया विष्णुमाया विष्टको हत्या हिजो राति भएको हुन सक्ने अनुमान गरेका छन् ।

चोरले रड तथा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुमान गरिएको छ । एकल महिला विष्टका जेठा छोरा अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएका छन् ।

अहिले बिहान उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी कुकुर बोलाएको छ ।

‘घटना के भएको हो अहिले नै भन्न सक्ने अवस्था छैन’, झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले भने,‘शंकास्पद मृत्युका बारेमा अनुसन्धान गर्न कुकुर बोलाएका छौँ ।’

मङ्गलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै विष्टले काठमाडौँमा भएका छोरा प्रकाशलाई फोन गरेकी थिइन् । आमाको फोनपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए ।

छिमेकीहरू भेला भएर केहीबेर कुरा गरेपछि उनीहरू आआफ्नो घरतिर लागेका थिए । छिमेकीहरू गइसकेपछि विष्ट पनि घरभित्र सुतेको स्थानीयले बताए ।

बिहान अबेरसम्म पनि उनी नउठेपछि स्थानीयहरू आएर हेर्दा गेटमा ताला लागेको तर घरको गेट भने खुल्लै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहान हेर्दा विष्टको शव खाटभन्दा तल भुइँमा कोल्टे परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।