धरान । स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको हुन्छ । सोही बजेटबाट लक्षित वर्ग, समुदाय र जातिको उत्थानका लागि सदुपयोग गर्ने गर्छ ।
यसै क्रममा धरान उपमहानगरपालिका ३ नं. वडा समितिले ज्येष्ठ नागरिक लक्षित बजेटबाट वडाका ७० जना ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ ।
धरान उपमहानगरपालिका ३ नं. वडा समितिले धार्मिक क्षेत्रको पहिचानसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप छुट्याएका बजेटबाट झापाको अर्जुनधारा र सतासीधाम भ्रमणका लागि प्रस्थान गरेको छ ।
वडाध्यक्ष विद्या शाक्यले ज्येष्ठ नागरिकलाई सहज रुपमा यात्रा होस् भन्ने उद्देश्यले २ वटा बस व्यवस्था गरिएको बताए । यो एक दिने भ्रमण भएपनि आगामी दिनमा अरु बढी बजेट छुट्याएर लामो दूरीको यात्रा गराउने योजना समेत वडाको रहेको बताए ।
ज्येष्ठ नागरिकको विविध कार्यक्रममा परेको बार्षिक बजेटलाई सदुपयोग गर्दै भ्रमणमा लगिएको सचिव मदन ढकाले बताए ।
वडामा रहेका ज्येष्ठ नागरिकहरुको प्रस्ताव अनुसार झापाको सतासीधाम र अर्जुनधाराको तीर्थ स्थलमा ज्येष्ठ नागरिकलाई भमणमा लगिएको उनको भनाई छ ।
भ्रमणमा ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरुर रहेका छन् । स्थानीय सरकारले बजेट छुट्याएरै धार्मिक क्षेत्र घुमाउन लगेकोप्रति उनीहरुले खुशी व्यक्त गरेका छन् ।
ज्येष्ठ नागरिक समाज धरान ३ का अध्यष मोहन श्रेष्ठले एकदिने भ्रमण प्रभावकारी हुने बताए ।
मुलुकमा संघीयता आएपछि र संविधान निर्माणपछि देशका तीन तहले नै ज्येष्ठ नागरिकको सम्मानका लागि बजेट छुट्याएर विविध कार्यक्रम गर्ने गरेको छ ।
धरान ३ ले पनि सोही अनुरुप ज्येष्ठ नागरिकलाई भ्रमणका लागि लगेको हो ।