धरान/ आज बैशाखे पुर्णिमा । वुद्ध जयन्ती पनि र किराँत राई समुदायले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनदेखि मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।
बाली लगाउनु अघि गाउ ँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ ।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ ।मङसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।
उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । किराँत समुदायको बाहुल्यता भएको देशका पूर्वी जिल्लाहरु सुनसरी,मोरंग, भो्जपुर ,धनकुटा लगायत काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् ।
साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु¥याउने बताउनुभएको छ ।
किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताउनुभएको हो ।