धरान/नरसिंह भगवान मन्दिर धरान–१४ स्थित दुई धारेमा रहेको मन्दिरको जग्गा धरान ५ स्थित पानबारीको वास्तविक छानविन गर्नको निम्ति एक हप्ता अघि छानविन समिती वनेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक हप्ताको समयावधी दिएर इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरीसकेको छ ।

मकरध्वज आचार्यले स्थापना गरेको नरसिंह भगवान मन्दिरको जग्गा सुनसरीका विभिन्न स्थानमा छन् तर पानबारीमा रहेको जग्गा भने विवादित वन्न पुगेको छ । हाल नरसिंह भगवान मन्दिर संरक्षण समितिको अध्यक्ष धरानका टोमप्रसाद आचार्य छन् । मन्दिरका संस्थापक मकरध्वजका पनाती हुन् टोमप्रसाद ।

अर्थात् मकरध्वजका छोरा कालिदास, कालिदासका छोरा प्रेमप्रसाद र प्रेमप्रसादका छोरा हुन् टोमप्रसाद । मन्दिर स्थापना कहिले भयो भन्ने यकिन रेकर्ड छैन ।

मन्दिरको जग्गा धेरै ठाँउमा छ । २०६६ सालमा मन्दिर संरक्षण समिति दर्ता भएपछि मन्दिरको व्यवस्थापन सुरु गरेको देखिन्छ ।

अध्यक्ष टोमप्रसाद आचार्य भन्नुहुन्छ –‘समिति दर्ता भएपछि विस्तारै मन्दिरको व्यवस्थापन चुस्त गर्न सुरु गर्‍यौ, मन्दिरको जग्गाको धनिपूर्जा खोजविन गरी संग्रह गर्नेदेखि सबैकुराका व्यवस्थापन सुरु गर्‍यौ, धनिपूर्जाहरु जम्मा गर्दै जाँदा पानबारीको जग्गाको धनिपूर्जा छुट हुन गएको थाहा भयो र हामीले २०७५ सालमा ६ नं. वडा कार्यालयमा गएर छुट दर्ताकालागी निवेदन दिइ प्रकृया अगाडी बढाइएको हो ।’

२०७५ सालमा नै प्रकृया अगाडी बढाए पनि यथेष्ट प्रमाण जुटाउन नसक्दा मन्दिरको प्रकृया मातपोत कार्यालय प्रवेश पाएन ।

सञ्चार माध्यममा नरसिंह भगवानको मन्दिरको जग्गा व्यक्तिले लैजाने चलखेल भएको समाचार आएपछि धरानको ६ नं. वडा पछि हटेको छ । आफुले गरेको सरजमिन स्थगित गर्न मालपोत कार्यालयलाई पत्राचार गर्दै वडा कार्यालय पछि हटेको हो ।

समाचार प्रकाशन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले मन्दिर पक्ष र दाबी गर्नेहरुलाई बोलाएर जग्गा प्रकरणबारे बुझेका थिए भने उनले छानविनकालागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयलाई पत्र लेखेका थिए भने जिल्ला प्रशासन कार्यालयलाई समेत पत्र लेखेका थिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक हप्ताको समयावधी दिएर इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरीसकेको छ । हेर्दै जाऔं छानविन समितिले के प्रतिबेदन बुझाउछ ।