धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर’ को चौथो शृङ्खलाको सेमी फाइनलबाट उत्कृष्ट १५ जना सहभागीहरू छानिएका छन् ।

उनीहरूले अन्तिम चरणमा प्रवेश गरेका छन् ।

मङ्गलबार सम्पन्न सेमी फाइनलका लागि ‘लागूऔषध दुव्र्यसन: चुनौती र समाधानका उपाय’, ‘ट्राफिक नियम उल्लङ्घन: चुनौती र समाधानका उपाय’, ‘जलवायु परिवर्तन: चुनौती र समाधानका उपाय’ र ‘विद्यार्थी र देशको भविष्य’ गरी चारवटा शीर्षकहरू दियउको थियो ।

सहभागीहरूलाई यी चार शीर्षकमध्ये आफुले रोजेको कुनै एक शीर्षकमा बोल्न दिइएको थियो ।

सहभागी १९ मध्ये चारजना सेमी फाइनलबाट बाहिरिएका छन् । प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, सहिद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्ट, हिमाल कार्की, राम लिम्बू, कैलाश लिम्बू, हरिहर कोइरालालगायत उपस्थित थिए ।

एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्दै उनीहरूलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरिएको आयोजक र्याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदका साथै प्लस टु अध्ययनका लागि शतप्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही जेठ अन्तिम साता हुने आयोजकले जनाएको छ ।