साढे दुई दशक वैदेशिक रोजगारीमा बिताएका खोटाङका शुक्रबहादुर विक पछिल्लो पटक साउदी अरबमा ठगिएपछि रित्तो हात फर्किएका छन् भने ऋण तिर्न नसक्दा घर पनि गुमेको छ।

साउदी अरब गएपछि सम्पर्कविहीन बनेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपाका ४८ वर्षीय शुक्रबहादुर विक ६ वर्षपछि घर आइपुगेका छन्।

२०७२ सालमा साउदी अरब गएका उनी जेठ १७ मा रित्तो हात फर्किएका छन् भने यता घर पनि गुमेको छ।साउदी पुगेको तीन वर्षसम्म परिवारको सम्पर्कमा थिए।

त्यसपछि परिवारसँग उनको सम्पर्क टुट्यो। लामो समय सम्पर्कविहीन हुँदा परिवार तनावमा त थियो भने फर्केर आउने आश पनि मारिसकेको थियो। टुप्लुक्क छोरा घर आइपुग्दा वृद्ध बुबा जगतले हर्षको आँसु खसाले।

साउदीबाट जेठ ९ मा काठमाडौं ओर्लिएका शुक्र उदयपुरको कटारीसम्म गाडीमा आए। खर्च नहुँदा कटारीबाट जसोतसो घर पुगेको उनले सुनाए।

“कटारीबाट भोकभोकै आएँ,” उनले भने।उनी आएको खबर सुनेपछि दाइभाइ पनि घर पुगेका छन्। दमकमा रहेका जेठा दाइ राजगणेश, काठमाडौं रहेका माइला दाइ बलबहादुर र भाइ रेवतमणि पनि जेठ १८ मा गाउँ पुगेका छन्।

उनी घर फर्किंदा परिवारमा खुशी त छाएको छ, तर अब दैनिकी कसरी चलाउने भन्ने पिरलो उस्तै छ। यो ६ वर्षमा घरपरिवारले झेलेको सास्ती, छोराछोरीको बिचल्ली र घर गुमाउनुको पीडा सहिनसक्नु छ।शुक्र पहिलो पटक २०५३ सालमा साउदी अरब गएका थिए। त्यसपछि २०६५ सालमा कतार गएर तीन वर्ष बिताए। साउदी र कतारमा कमाएको पैसाले इटहरीमा जग्गा जोडे।

ऋण थपेर घर बनाए

त्यही घर बनाउँदा लागेको ऋण तिर्न उनी फेरि साउदी अरब गएका थिए। तर यस पटकको साउदी बसाइ सुखद बन्न सकेन। पसिना बगाए, तर पैसा पाएनन्। “परदेशमा ठगिएँ, आवाज उठाइदिने कोही थिएन,” उनी भन्छन्।

काम गरेको पैसा नपाएपछि कम्पनी छोडे। अर्को कम्पनीमा काम गर्न थाले। अर्को कम्पनीले पनि पैसा दिएन।

“घर जान्छु भन्दा पठाएन, त्यसपछि भागेर काम गर्न थाल्यौं,” शुक्रले भने, “जता गयो त्यतै फसियो। दुःख गरेर जोडेको घरजग्गा पनि गयो।”साउदी अरबमा शुक्र सहित सात जना सँगै बसेर पेन्टिङको काम गर्थे। एक दिन साथीहरूले खानपिन गरे। त्यही विषयलाई लिएर प्रहरीले समात्यो।

“चार–पाँच महीना जेलमा राख्यो,” उनी भन्छन्, “फर्केर आउँदा कोठामा झोला, कागजात तथा परिवारको सम्पर्क नम्बर भएका कागजात केही थिएन।”

प्रहरीले मोबाइल पनि फिर्ता नदिंदा घरमा खबर गर्न नपाएको उनी सुनाउँछन्।

त्यही मुद्दामा फेरि समात्यो। सबैलाई वर्षदिन जेलमा राखेको उनी बताउँछन् ।

अदालतबाट निर्दोष सावित भएपछि मात्रै छुटेको उनको भनाइ छ । कतिपयले शुक्र लुकेर बसेको अनुमान गर्थे। कतिपयले कसैले हत्या गरेर फालेको अड्कल गर्थे।

परिवारले पनि माया मारिसकेका थिए। साउदी अरब पुगेका गाउँकै गजेन्द्र बराइली र राजापानीका राजन लोहारले सोधीखोजी गर्दा शुक्र जेलमा रहेको पत्ता लागेको थियो, गत मंसीरमा ।

परिवारको बिचल्ली

साउदी अरबमा शुक्र समस्यामा परे भने यता परिवारजनको पनि बिचल्ली भयो। भाकामा ऋण तिर्न नसक्दा इटहरीको घर साहुले नै लग्यो। अर्कातिर, शुक्रका छोराछोरी अनिशा र मिनकुमारलाई रोगले च्याप्यो। हिंडडुल गर्न नसक्ने भए।

बिरामी छोराछोरीको उपचार हुन सकेन। अनिशा कक्षा ९ मा र मिनकुमार कक्षा ८ मा पढ्दापढ्दै थलिए। दुवैले पढाइ छाडे।

“हातखुट्टा नलाग्ने, जिब्रो लटपटिने, स्मरणशक्ति गुमाउने लगायत समस्या देखिएपछि अस्पताल त लगेका थियौं, तर निको भएन,” काका रेवतमणिले भने।

बुबा घर फर्किएपछि उनीहरू पनि इटहरीबाट खोटाङ आएका छन्। इटहरीको घर साहुले नै लगेपछि डेरामा बस्दै आएका छन्।

श्रोत: हिमालखबर