इटहरी/ सुनसरीको इटहरीमा आज देखि इस्टर्न ट्राभल मार्टको आयोजना हुने भएको छ ।

कोशी प्रदेशमा रहेका पर्यटकीय स्थलहरूको प्रवर्धन तथा प्रचार प्रसार सँगै आवश्यकता एवम् महत्वबारे बाहिय पर्यटकहरूलाई दर्साउने उद्देश्य सहित इस्टर्न ट्राभल मार्टको आयोजना गर्न लागिएको हो ।

इटहरीमा मङ्गलवार दिउसो पत्रकार सम्मेलन गर्दै  मार्टमा भारत , बिहार , पश्चिम बङ्गाल ,सिक्किम प्रान्त , बङ्गलादेश , भुटान लगायतका छिमेकी राष्ट्रहरूबाट पर्यटक ल्याइने आयोजक इस्टर्न ट्राभल मार्ट कोशीले जनाएको छ ।

इटहरीको धरानरोड आपगाछि स्थित सोल्टी वेस्टर्नको प्राङ्गणमा लाग्ने मार्टमा ३० वटा स्टलहरू रहने पत्रकार सम्मेलनमा जनाइएको छ । मार्टले समग्र कोशी प्रदेशमा रहेका साना तथा ठुला लगानीमा निर्माण भएका होटेलहरूको पनि अवलोकन हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डबाट तिस लाख र सो रकमको २० प्रतिशत स्थानीय सरकार इटहरी उपमहानगरबाट प्राप्त हुने आयोजक कमिटीका संयोजक भविस कुमार श्रेष्ठले बताए । 

ज्येष्ठ २५ गते इटहरीमा उद्घाटन हुने ट्राभल मार्ट २७ गते झापाको मेची क्राउनमा पुगेर समापन गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गर्ने जनाइएको छ ।

मार्टमा कोशी प्रदेश लगायत अन्तर्राष्ट्रिय स्तरबाट आएका पाहुनाहरू , पर्यटनकर्मी , पत्रकार , अभियान्ता लगायत ८० भन्दा बढी ट्राभल व्यवसायीहरूको संयुक्त उपस्थिति रहने जनाइएको छ ।

कोशी प्रदेशमा करोडौँ लगानी सहित स्थापना गरिएका होटलहरूलाइ तिनै तहको सरकारले बेवास्ता गरेपछि उनीहरूलाई दबाब दिनकै लागि यो मार्ट आयोजना गरिएको आयोजक कमिटीका संयोजक भविस कुमार श्रेष्ठले बताए । तिनै तहको सरकारलाई झकझकाउन र दबाब दिन तिन दिने ट्राभल मार्ट गर्न लागिएको संयोजक श्रेष्ठले बताए ।

त्यस्तै पर्यटन व्यवसायी वासुदेव बरालले जोखिमको बेला राज्यले व्यवसायीहरूलाई प्रवर्द्धन वा संरक्षण गर्ने कुनै ठोस नीति ल्याउन नसक्दा होटेल सञ्चालकहरू अहिले मार्कामा परिरहेको औल्याए ।

उनले बैंकबाट करोडौँ रूपै या ऋण  लिई जोखिम मोलेर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूलाई अफ्ठेरो परेको बेला राज्यले बेवास्ता गरेपछि लगानी जोखिममा पर्नुका साथै थुप्रै व्यवसायीहरू आफ्नो व्यवसायबाटै पलायन भइरहेको गुनासो गरे ।

होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेज बहादुर पुरीले पर्यटकहरूलाई लक्षित गरी यस्ता मार्ट आयोजना गरिरहँदा राज्यले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताए ।

इटहरीका होटेल व्यवसायी अर्जुन शर्माले कोशी प्रदेशमा हुन लागेको इस्टर्न ट्राभल मार्टमा साना व्यवसायीहरूलाई पनि समेट्न आग्रह गरे । उनले आन्तरिक तथा बाहिय पर्यटकहरूलाई लक्षित गरी मार्टको आयोजना गरे पनि पर्यटकहरूमाथि राजमार्गमा हुने दुर्व्यवहार रोक्न सबै लाग्नुपर्ने पनि बताए ।