धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा रगत अभाव भएको छ ।

रगत अभाव भएकै कारण रक्त सञ्चार सेवाले रक्तदानको गुम्ती शिवर शुरु गरेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्यमा अत्याधिक गर्मी बढेसँगै विभिन्न प्रकारका विरामीहरु नेपाल लगायत भारतबाट आउने गरेका छन् ।

यहाँ विरामीको अत्याधिक चाप भएकै कारण विरामीलाई चाहिने अत्यावश्यक रगत समेत उपलब्ध हुन सकेको छैन ।

विरामीलाई चाहिने सबै ब्लड ग्रुपको रगत पर्याप्त नहुँदा अस्पतालमा आएर शल्यक्रिया गर्ने, प्रसुति गृहमा चाहिने रगत समेत उपलब्ध छैन ।

समस्या अत्याधिक भएपछि नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको रक्त सञ्चार सेवाले चौक चौकमा सबैको साथ सहयोगमा रक्तदान कार्यक्रमलाई निरन्तता दिएको हो ।

अहिले प्रतिष्ठानभित्र सञ्चालन भएको रक्तसञ्चार सेवामा ओ पोजेटिभ ग्रुपको रगतबाहेक अरु कुनै रगत छैन ।

रगत अभाव भए पनि रगतको आवश्यकता भने उच्च रहेको छ । धेरै विरामीहरु अहिले रगत अभावकै कारण अस्पतालको वेडमा  छट्पटाएर बस्न बाध्य छन् ।

यसैलाई मध्यनजर गरी आज धरान १ छाताचौकमा आकस्मिक रक्तदानको कार्यक्रम आयोजना गरिएको रक्त सञ्चार सेवाका इन्चार्ज सोम भण्डारीले बताउए ।

उनले यस्तो विषम् परिस्थितिमा विरामीको ज्यान बचाउन आवश्यक भएकोले सबैलाई रक्तदान गर्न आवहान समेत गरे ।

छाताचौकमा रहेको आकस्मिक रक्तदान कार्यक्रममा सर्वसाधारणसहित विद्यालयका विद्यार्थीहरुले समेत रक्तदान गरेका छन् ।

रक्त सञ्चार सेवाले आवहान नै गरेर आयोजना गरेको रक्तदान कार्यक्रमा  विद्यार्थीहरुलाई समेत समावेश गरिएको धरान मोडल कलेजका प्राध्यापक मोहन श्रेष्ठले जानकारी दिए ।

उनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले कलेजका विद्यार्थीहरुलाई समेत सहभागी गराएर रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

प्रतिष्ठानमा भारत लगायत नेपालका विभन्न स्थानबाट दैनिक ५ हजार भन्दा बढी विरामी उपचारका लागि आउने गरेका छन् । त्यसमा पनि प्रतिष्ठान रिफरल सेन्टर भएकोले अन्य ठाउँमा उपचार हुन नसकेका विरामीहरु समेत प्रतिष्ठानमा ल्याइने गरिएको छ । यहाँ उपचारमा आएका विरामीमध्ये ४० प्रतिशत भन्दा बढीलाई कुनै न कुनै माध्यमबाट रगतको आवश्यकता पर्ने गर्दछ ।

अहिले रगत अभाव भएको अवस्थामा विरामीलाई अत्यन्तै कठिन भएको छ । विभिन्न संघ संस्थासँग समन्वय गरेर समय समयमा रक्तदान कार्यक्रम गर्दै आएको रक्त सञ्चार सेवा आफैले गुम्ती शिविर राखेर रगत संकलनमा लाग्नु अस्पतालमा रगतको अभाव कति छ भन्ने प्रष्ट हुन्छ । रक्तदान गरेर सहयोग गर्न रक्त सञ्चार सेवाले सबैलाई आवहान समेत गरेको छ ।