इलाम / सूर्योदय नगरपालिकास्थित तीनघरेमा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको खाना महोत्सव नेपाल आदिवासी जनजाति महासंघ, सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चले आयोजना गरेको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन एवं विविध परिकार प्रदर्शन गरिएको महासङ्घ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले जानकारी दिए ।

उनका अनुसार आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

लोपोन्मुख लाप्चा, राई, लिम्बू, मगर, नेवार, तामाङ लगायत विभिन्न जातिका मौलिक खानाका परिकारका स्टल राखिएको थियो ।