विराटनगर/ ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ ।

ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १/२ दिनमा नै टुङ्गिने बताए ।

राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको रिजालले बताए । उनका अनुसार सरकारले आउँदो साउन १ देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै छापिने छैन ।

अहिले ३र४ हजार लाइसेन्स प्रिन्ट गर्दै गरेको बताउँदै अर्को पाटो खोजिरहेको उनले बताए ।महानिर्देशक रिजालका अनुसार लाइसेन्स छापिरहन खर्च गर्नुभन्दा राष्ट्रिय परिचयपत्रलाई नै उचित विकल्पको रूपमा प्रयोग गर्ने तयारी भएको छ ।

महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमति पत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको बताए ।