धरान/ मुलुकका सबै स्थानीय तहले लक्षित वर्गलाई आत्मनिर्भर बनाउन विभिन्न प्रकारका सीपमुलक तालिमको आयोजना गर्ने गरेको छ । यसमध्ये महिला लक्षित तालिम समेत धेरै हुने गरेको छ ।

यसै क्रममा इलामा नगरपालिकाले समेत महिला लक्षित तालिम शुरु गरेको छ ।

नगर महिला समन्वय समितिको आयोजनामा  प्राकृतिक जडिबुटी प्रयोग गरेर सावुन दिने तालिम मंगलबारदेखि शुरु गरिएको छ ।

पाँच दिनसम्म चल्ने सो तालिमको उद्घाटन इलाम नगरपालिका ९ नं. वडा समितिका वडाध्यक्ष गोपाल चौहानले गरे । 

उद्घाटन पश्चात बोल्दै वडाध्यक्ष चौहानले अहिले महिला लक्षित कार्यक्रममा लागि संघ, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गर्ने बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै घरेलु उद्योग सञ्चालन गर्न चाहे सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

यस्तै विशेष अतिथिको रुपमा रहनु भएका इलाम नगरपालिका २ नं. वडा समितिका वडाध्यक्ष गिरिराज रिजालले यस्ता खालका तालिम समय समयमा हुनुपर्ने बताए ।

उनले महिलाहरु आत्मनिर्भर हुनकै लागि तालिमको आयोजना गरिएको बताउदै सिकेको कुरा व्यवहारमा उतार्न सहभागी महिलाहरुलाई अनुरोध समेत गरे ।

तालिममा २० महिला सहभागी रहेका छन् । तालिमको सहजीकरण धरानकी महिला उद्यमी मनिता घिमिरेले गरेकी छन् ।

सहभागी महिलाहरुलाई पाँच दिनसम्म निम, तीतेपाति जस्ता वनस्पतिबाट सावुन बनाउने तरिकाका विषयमा प्रशिक्षक घिमिरेले तालिम दिने आयोजक नगर महिला समन्वय समितिकी अध्यक्ष पुष्पा खनालले बताइन् ।

उनले महिलाहरुलाई तालिम दिएर उधमी बनाउने उद्देश्यले नै तालिम दिन शुरु गरिएको बताइन् ।

कार्यक्रमको पहिलो दिन उद्घाटन कार्यक्रमसँगै तालिमको आवश्यता र महत्वबारे सहभागीहरुले बताएका थिए ।

तालिममा सहभागी महिलाहरुले समेत तालिम प्रभावकारी हुने र सिकेको कुरालाई व्यवहारमा उतार्दै व्यवसायिक बन्न मद्धत पुग्ने बताएका थिए  ।