खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै जेठ २९ गते बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । साकेला उभौलीको अवसरमा विभिन्न जिल्लाका किरात समुदाय भेला भइ सामूहिक रुपमा साकेला सिली प्रदर्शन गरिएको हो ।
किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवं संस्कार–संस्कृतिको संरक्षण गर्न तुवाचुङ–जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गालगायतका किरात समुदाय भेला भइ तीन चुल्हाको पूजा गरी साकेला सिली प्रदर्शन गरेका हुन् ।
यस ठाउँमा किराती पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती रहेको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।
त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको तुवाचुङ–जायजुममा संसारभरका किरात समुदाय पितृ पुर्खालाई पूज्न आउने गर्छन् । सिली प्रदर्शनीमा १३ समूहले ढोल, झ्याम्टाको तालमा गाउँदै साकेला सिली प्रदर्शन गरेका थिए ।
सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले गरेका थिए । साकेला उभौलीले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताए ।
‘साकेलामा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पुर्याउँछ’, उनले भने ।
रासस