काठमाण्डौ/ गोमन सर्पले कोटेर गम्भिर बिरामी भएका ९ वर्षका एक बालक नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटरमा छन्। पर्साका ती बालकलाई आज बिहान गोमन सर्पले खुट्टाको औंलामा टोकेको थियो।

घर नजिकै खेल्ने क्रममा गोमन सर्पले टोकेर  नारायणी अस्पतालको आकस्मिक कक्षमा अचेत अवस्थामा ल्याइएको थियो। उनको स्वासप्रस्वास नै रोकिएको कारण तीन साइकल सिपीआर समेत दिइएको थियो।

ती बालकलाई आकस्मिक कक्षमै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्पतालका आकस्मिक विभागका प्रमुख डा उदयनारायण सिंहले जानकारी दिए।

अस्पतालकै आइसीयूमा रहेका  १३ वर्षका अर्का बालक पनि गोमन सर्पले डसेर  उपचाररत छन्। बाराको जीतपुर सिमरा– ७ का ती बालकलाई पनि घर नजिकै खेल्ने क्रममा खुट्टामा गोमन सर्पले डसेको थियो। उनलाई दुईदिन भेन्टिलेटर सहितको आइसीयुमा राखिएको थियो।

ती बालकको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भने भेन्टिलेटर बाहिर आईसीयुमा मात्र राखिएको छ। अस्पतालको आकस्मिक कक्षमा  सर्लाहीको मलंगवाकी एक महिला पनि सर्पकै टोकाइको कारण गम्भीर बिरामी छिन्।

उनी सर्लाहीबाट रेफर भएर आएकी हुन्। ती महिलालाई करेत जातको सर्पले  डसेको हो। नारायाणी अस्पतालमा सर्पदंशका  ५ जना बिरामी आकस्मिक कक्षको अब्जरभेसनमा उपचारत छन्। 

गर्मी बढेसँगै नारायणी अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमराको अधिकतम मौसम बुधबार ३८ दशमलब ७ डिग्री सेल्सियस पुग्यो।

अस्पतालका डा उदयनरायण  सिंहका अनुसार अस्पतालमा जेठ दोस्रो सातादेखि सर्पदंशका बिरामी बढ्न थालेका छन्।

उनका अनुसार हाल  दैनिक ८ देखि १० जना बिरामी सर्पले टोकेर उपचारका लागि आइरहेका छन्। तीमध्ये २ देखि ३ जना सर्पको कोटाइबाट कडा विष लागेर गम्भीर अवस्थामा पुग्ने गरेको पाइएको डा सिंहले जानकारी दिए।उनले भने, ‘सर्पले कोटेर अस्पतालमा अउाने बिरामी अहिले बढेका छन्। अहिले दैनिक १० जना बिरामी आएका छन्।

भने  २ देखि ३ जना गम्भीर भएर भेन्टिलेटरमै राख्नुपर्ने अवस्थाका बिरामी आइरहेका छन्। सर्पदंशबाट बालबालिका बढी प्रभावित भएको डा सिंहले जानकारी दिए।   अत्याधिक गर्मीको कारण सर्पहरु बाहिरी जमिनमा निस्कन थालेका कारण सर्पदशंका घटना पनि बढ्न थालेको डा सिंहले बताए।

सर्पदंशको विषयमा २५ वर्षदेखि अध्ययन गर्दै आइरहेका डा सञ्जीव शर्माका अनुसार नेपालमा वर्षेनी ४० हजार सर्पदंशका घटना हुने गरेको र ३ हजारको मृत्यु हुने गरेको छ।  डा शर्माका अनुसार नेपालमा मुख्य दुई प्रकारका सर्पको प्रजातिले नै मानिसको मृत्यु हुने गरेको छ। जसमा गोमन र करेत सर्प रहेका छन्।

गोमन सर्प बिहान र बेलुका बढी सक्रिय हुने भएकाले त्यतिबेला टोक्छ र करेतले राति डस्ने जोखिम बढी हुन्छ।  उनका अनुसार नाग सर्प, राजगोमन, किङ कोब्रा र करेतका विभिन्न ६ प्रजातिका सर्पले डस्छन्। 

डा शर्माका अनुसार करेत सर्पले टोकेका मान्छेमध्ये ५० प्रतिशतलाई तत्काल कृत्रिम श्वासप्रश्वास दिनुपर्ने अवस्था हुन्छ। 

सर्पले टोकेपछि मान्छेको शरीरमा के हुन्छ?

डा शर्माका अनुसार गोमन र करेत सर्पले टोकेमा स्नायु तन्तुलाई असर गर्छ र प्यारालाइसिस गराउँछ।

टाउकोदेखि विस्तारै मासुलाई प्यारालाइसिस गर्दै आँखाको भाग, मुखको भाग, जिब्रो प्यारालाइसिस हुँदै बिरामीले श्वास फेर्न, थुक निल्न नसकेर मृत्यु हुन्छ। ती बिरामीलाई कृत्रिम श्वासप्रश्वास आवश्यक हुन्छ। करेत सर्पले टोकेको ठाउँमा घाउ पनि हुन्छ।