धरान/ अविरल बर्षापछि आएको बाढीले कोशी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएको छ । बाढीका कारण जनजीवन प्रभावित भएको छ । सुनसरीको धरानमा रहेको सर्दु,सेहराखोला ,सेउतीखोलामा वुधबार रातीदेखि आएको अविरला वर्षको कारण जनजीवन प्रभावित भएको छ ।

खोला आसपासमा वसोवास गर्नेहरु खोलामा आउने बाढीले त्रासमा बसेका छन भने जोखिम क्षेत्रमा वसोवास गर्नेहरु सुृरक्षित स्थानमा गएका छन् । म‍गलबार विहानै धरान ५ स्थित देउरालीमा रहेका सेउतीखोलामा बाढीले जनजीवन प्रभावित बनायो । धरान १५ र धरान ५ लाई जोड्ने र आसपास गर्ने उक्त स्थानमा पुल नहँुदा समस्या हुने गरेको  छ ।

पत्रकार विनोद विश्वकर्माले उक्त स्थानमा विहानै बालेरो सेउतीको बाढीमा फसेको दृष्यलाई सामाजिक सन्जालमा पोष्ट गरेका छन् । धरान ५ नम्बर वडा सदस्य प्रेम दाहालले वुधबार बिहान देउराली बीच सेउती खोलामा बोलेर फसेको पुष्टि गरेका छन् । उक्त खोला आसपासमा प्रायः जसो सुकुम्बासी वसोवास रहेको छ । खोलाको डिलमा स साना झुपडी हालेर वस्दै आएका छन् ।

स्थानीय रमणल राईले अविरल बर्षा आउन थालेपछि आफुहरु रातभर जाग्राम वस्ने गरेको वताए । उनले भने,“रातभरी त्रासमा वस्नु परेको छ, कुन वेला खोलाले बगाउने  हो थाहा छैन,हामीलाई यो बेला सुरक्षित स्थानको खाँचो छ ।”वडा नम्बर ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुका अनुसार दुई सयभन्दा बढी घर परिवार सेहराखोला ,सेउतीखोला र अधेरी खोलाको उच्च जोखिममा रहेको बताइएको छ ।

उनका अनुसार धरान १५ को बगरकोट भएर जाने मसाने खोलामा भने कटान सुरु गरेको छ । कटानका कारण ६० घरपरिवार उच्च जोखिममा छन् ।

तत्कालको लागि सामान्य तारजालीले खोलालाई छेकथुन गरिपनि त्यो दिर्घकालिन नभएको वडाध्यक्ष लिम्बूको भनाई छ । अधेरीखोलाको आइते चौक र सितल वस्ती पनि जोखिममा रहेको छ । तल्लो देउरालीको सुन्दरवस्ती आसपास र खरैनी पनि खोलाको जोखिममा छ । सेहरोखोलाले विगत २०७२ सालमा पनि एक घरपरिवारका ४ जनाको परिवारलाई बगाएर मृत्यु भएको थियो ।

सोही त्रास अझै पनि त्यहाँका वासिन्दालाई छ । इटहरी , मोरंग र झापाको विभिन्न खोलामा आएको बाढीले त्यहाँको पनि जनजीवन प्रभावित भएको छ । दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्  ।

मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुवान भएको छ । कच्ची घरमा पाँच फिटसम्म डुवान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजबंशी, कार्तिक राजबंशी, संजय राजबंशी, कुञ्जि राजबंशीको घर डुवान भएपछि उनीहरु विस्थापित भएका छन् ।

उनीहरु सोही स्थानका प्रभा राजबंशीको घरमा आश्रय लिएको बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन् ।

बिजुलीको दुईवटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ । बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँचवटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीय अनुप सापकोटाले जानकारी दिए । यसैगरी अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ ।

सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका सहभाति लोकराज ढकालले जानकारी दिए ।