वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाले कृषकहरूलाई चार्जेवल टु ईन वान स्प्रेयर टङ्की, साना सिँचाइ स्यालो ट्युबवेल तथा पानी तान्ने विद्युतीय मोटर वितरण सुरु गरेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिशत मूल्य अनुदानमा चार्जेवल टु ईन वान स्प्रेयर टङ्की वितरण सुरु गरेको हो  ।

नगरपालिकाको कृषि विकास शाखामा किसानहरूले दिएको निवेदनका आधारमा आर्थिक विकास समितिको बैठक बसेर ९ सय ८८ जना किसानलाई चार्जेवल टु ईन वान स्प्रेयर टङ्की वितरण गर्ने तय गरिएको शाखाकी प्रमुख तुलसा लिम्बुले बताइन् ।

त्यस्तै समितिको बैठकबाटै ७८ जनालाई साना सिँचाइ स्यालो  ट्युबवेल र ४४ वटा पानी तान्ने विद्युतीय मोटर वितरण गर्ने समेत तय गरिएको छ । उक्त कार्य पनि नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार भएको शाखाकी प्रमुख लिम्बुले बताइन् ।

सार्वजनिक सुचनानै आव्हान गरेर कृषक, कृषक समूह/कृषि सहकारी/कृषि फर्महरूलाई जानकारी गराई निवेदन माग गरिएको र हाल निवेदन उपर छलफल गरी स्प्रेयर टङ्की, सिँचाइ स्यालो ट्युबवेल तथा पानी तान्ने विद्युतीय मोटर प्राप्त गर्ने लाभग्राही कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्महरूलाई सूचना प्रकाशन गरी जानकारी दिइएको शाखाका कृषि प्राविधिक निरकुमार राईले बताए ।