धरान/  धरान उपमहानगर भित्रको पानबारीमा अविरल बर्षासँगै आउने बाढी बाटो भएर बग्ने गरेपछि झण्डै दुई दर्जन घर परिवार नै बाढीको जोखिममा परेको छ ।

गएराती देखि आएको बाढीका कारण धरान ६ पानबारी घोपाली टोलको सिंहदेबी लाइनको उतरको गाउँ नै बाढीको जोखिममा परेको हो ।भालुखोलाको शिरबाट आउने बाढी सिधै गाउँ पस्ने गरेको छ । खोला नै गाउँ पसेपछि आसपासका घरपरिवार जोखिममा रहेको स्थानीय ज्ञानु राईले बताए ।

उनका अनुसार हरेक बर्ष आउने बाढी सिधै गाउँ पस्ने गरेको छ । बर्षात शुरु भएपछि गाउँमा रहेकाहरु रातभर निदाउँन सक्दैनन् ।

धरान उपमहानगरभित्रको वडा रहेपनि स्थानीय सरकारले उपेक्षा गरेको गुनासो त्यहाँ वसोबास गर्नेहरुले गरेका छन् ।

यो साल मात्रै होइन,हरेक वर्ष नै खोला गाउँ पस्छ,जस्ले गर्दा गाउँ नै जोखिममा पर्दा समेत बाढी नियन्त्रणको लागि ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।

धरान उपमहानगरपालिका  र वडा नम्बर ६ मा वडा कार्यालयमा समस्याको माग लिएर गएपनि समस्या समाधानको लागि वेवास्ता गरिएको स्थानीय ज्ञानु राई बताउँछन् ।

उनका अनुसार उक्त वस्तीको पुछारबाट डे«न सहितको खोला व्यवस्थापनको लागि काम शुरु गरेको ३ वर्ष भएको छ,तर थोरै मात्रै काम भएको बाँकी काम वजेट अभावले नसकिएको राईले बताए ।