धरान/ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दुर्घटना न्यूनिकरण गर्नका लागि धरानका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुसँग छलफलको आयोजना गरेको छ ।

ट्राफिक सप्ताह अन्तर्गतको समापन कार्यक्रमको अन्तिम दिन यातायात मजदुर, यातायात व्यवसायी, धरानका व्यापारी व्यवसायी तथा सञ्चारकर्मीहरुसँग धरानको ट्राफिक व्यवस्थापनसँगै दुर्घटना न्यूनिकरणका विषयमा छलफल भएको हो ।

सो अवसरमा बोल्दै यातायात व्यवसायी नेत्रबहादुर थापाले यस्ता छलफल र अन्तरक्रिया मौसमी रुपमा नभई समय समयमा गर्नुपर्ने बताए ।

उनले भने–‘ट्राफिक  व्यवस्थापन ट्राफिक प्रहरी एक्लैले गर्न सक्दैन, व्यवस्थापनका लागि सबैका भूमिका उत्तिकै हुन्छ,  समय समयमा यस्ता छलफल तथा अन्तरक्रिया राख्नसकेको खण्डमा समस्याको पहिचान गरी समाधान गर्न सहज हुन्छ ।

’उनले धरानमा शुरु भएको एकतर्फी सवारी आवागमनले धरानको ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त भएको बताए । उनले भने–‘पछिल्लो समय पुतली बजारबाट भानुचौक आउने सडकमा पनि एकतर्फी यातायात सञ्चालन गरिएको छ, यो सञ्चालन पछि सवारी साधनमा भानुचौकमा भएको अस्तव्यस्त हँटेर गएको छ ।

’उनले सबैसँग सहकार्य गरेर अगाडि बढेको खण्डमा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहज हुने बताए । यस्तै सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले स्थानीय सरकारसँग समन्वय गरेर ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘वान वे’ अवधारणा सफल भएको दाबी गरे ।

, उनले भने–‘यसले व्यापारी व्यवसायीको व्यसायमा केही समस्या छ भएको छ, तर त्यो भन्दा पनि ठूलो ट्राफिक जाम नहुँदा सहज सवारी साधन सहज रुपमा आवतवात भएको छ ।’

सबैको कुरा सुनिसकेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीकाका प्रमुख सुवास केसीले ट्राफिक व्यवस्थापनमा सबैको साथ सहयोगको खाँचो रहेको बताए ।

उनले भने–‘ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीले एक्लै सक्दैन, सबैको सहयोगको चाहिँन्छ ।’धरानमा सञ्चालन भएको वान वे को अवधारणा समेत सबैको साथ सहयोगबाट सफल हुदै गएको उनको तर्क थियो ।