विराटनगर/  मोरंगको उर्लाबारीमा सोमबार राती तनाबग्रस्त भयो । दुर्घटनामा महिलाको मृत्यु भएपछि विवाद उत्पन्न हुदा तनाबग्रस्त बनेको हो । 

तीव्र गतिमा रहेको टिपरले दुर्घटना गराएपछि उत्तेजित एवं आक्रोसित बनेको भीडले प्रहरी कार्यालयमा ढुंगामुडा गरेको थियो ।

ढुंगामुडाबाट इलाका प्रहरी कार्यालय उर्लाबारीमा क्षति पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि भीड तितरबितर भएको थियो । सुरक्षा सक्रियताकै कारण हिंसा भड्किन पाएन । थप क्षति भएन । तत्काल ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन नगरिएको भए हिंसा भड्किएर ठूलो क्षति हुने अवस्था बनिसकेको थियो ।

दुर्घटनालगत्तै माहोल अशान्त भएर उर्लाबारी तनावग्रस्त बनेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले हिंसा भड्किने सम्भावना बढेपछि स्थितिलाई नियन्त्रणमा लिन २९ सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए ।

प्रहरीले लाट्ठी चार्जसँगै अश्रुग्यास प्रहार गरेपछि राति ११ बजेतिर भीड तितरबितर भएको थियो ।

सुरक्षा सक्रियताकै कारण परिस्थिति नियन्त्रण बाहिर जान नपाएको बस्नेतले बताए ।उनका अनुसार करिब २ सयको संख्यामा रहेकाहरुले होहल्ला र नाराबाजीसहित सडकमा टायर बालेर प्रदर्शन गर्दै प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण एवं ढुंगामुडा गरेका थिए ।

प्रदर्शनकारीको आक्रमणमा परेर प्रहरी सहायक हवल्दार लालबहादुर खत्री घाइते भएका छन् । ढुंगाले लागेर चिउडोमा चोट लागेका उनलाई उपचारका लागि अरनिको अस्पतालमा भर्ना गरिएको थियो ।

प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर प्रहरी कार्यालयको गेटको डिजिटल बोर्ड र नागरिक सहायता कक्षको शिशा फुटेका छन् ।

साथै, ढुंगाले लागेर प्रहरीले प्रयोग गर्ने ५ वटा शिल्ड ढालसमेत फुटेका छन् । स्थितिलाई नियन्त्रण लिन इलाका प्रहरी कार्यालयहरु पथरी, लेटाङ, बेलबारी तथा झापाको दमकबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरीसमेत खटाइएको थियो । सुरक्षाकर्मीले सम्झाई बुझाई गर्न थालेपछि झन् उत्तेजित भएको भीडले पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन ठप्प पारेर टायर बाल्दै सडकमा प्रदर्शन गरेको थियो । प्रदर्शन र सडक अवरोधका कारण लोकमार्गमा निक्कै बेरसम्म यातायातका साधन चल्न सकेनन् । परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।

घटनामा १ जना प्रहरी घाइते हुनेबाहेक अरु मानवीय क्षति हुन पाएन । प्रहरीले सक्रियता बढाएर संयमता अपनाएकै कारण ठूलो क्षति हुन नपाएको डीएसपी बस्नेत बताउँछन् ।

उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ सिलौलीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट महिलाको मृत्यु भएको थियो ।

मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६ः५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उर्लाबारी–६ की अन्दाजी २७ वर्षीया सीता बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा साँझ ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन् ।

उनको अवस्था मध्यम छ । प्रहरीका अनुसार बालकको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै टिपर चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बू फरार बनेका थिए ।

प्रहरीले उनलाई केही बेरमा नियन्त्रणमा लिएको थियो । लिम्बूविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीका अनुसार चालकको लापरबाही र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

दुर्घटनापछि आक्रोसित बनेका मृतकका आफन्त र स्थानीय ढुंगामुडा गर्दै प्रदर्शनमा उत्रिएपछि उर्लाबारी तनावग्रस्त बनेको थियो ।

आन्दोलनमा उत्रिएकाहरुले टिपर आतंक बन्द हुनुपर्ने, दुर्घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै प्रहरी कार्यालयमा आक्रमण गरेका हुन् ।

प्रहरी कार्यालयमा ढुंगामुडा गर्ने र भीडलाई उत्तेजित बनाएर माहोल भड्काउन भूमिका खेल्नेहरुको खोजी भइरहेको डीएसपी बस्नेतले बताए । घटनामा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने जानकारी उनले दिए ।