सुन्दरहरैचा/ मोरङ जिल्लाको सुन्दरहरैचामा एक पुरुषको बीभत्स हत्या भएको छ । जिल्लाको सुन्दरहरैँचा ९ स्थित बिहीबार  कुखुरा फार्म सञ्चालकको हत्या भएको हो ।

स्थानीय ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

घर नजिक कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको फार्मभित्रै हत्या भएको उनले बताए ।बस्नेतका अनुसार मृत अवस्थामा भेटिएका उनको टाउको र शरीरका अन्य विभिन्न भागमा क्षतविक्षत अवस्था रहेको छ ।

बजगाईंले खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पतीलाई राखेको र हाल भने दम्पती फरार रहेको उनले बताए । डीएसपी बस्नेतले भने, ‘हत्या गरेर दम्पती फरार बनेको हुनसक्ने आशंका छ । हामीले उनीहरूको खोजीसँगै प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।’घटनास्थलबाट एउटा बन्चरो र दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।यसैवीच मोरङको बेलबारीमा बिहीबार बिहान छाडा एवं बेवारिसे कुकुरले आतंक मच्चाएको छ ।

कुकुरले घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई पालैपालो तथा लखेटीलखेटी टोकेको थियो ।

बेवारिसे कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई समेत टोकेको स्थानीयले बताएका छन् । एउटा कुकुरले जथाभावी टोक्न थालेपछि गाउँ आतंकित भएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले बताए ।

उनका अनुसार उक्त कुकुरले बिहान ९ः३० बजेतिर बेलबारी नगरपालिका–१ र ३ का ९ जनालाई टोकेको छ । कुकुरले टोकेर घाइते भएकाहरुलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको जानकारी राईले दिए ।

बेलबारी–१ र ३ सिमानामा पर्छ । सबै जनालाई एउटै कुकुरले टोकेको राईले बताए । कुकुरले टोकेर घाइते हुनेमा ५ जना वृद्धवृद्धा छन् ।

उनका अनुसार सबै घाइतेको अवस्था खतरामुक्त छ ।

‘घर वरपर काम गरिरहेका र बाटोमा हिँडिरहेका बेला कुकुरले लखेटीलखेटी टोकेको पाइयो,’ राई भन्छन्, ‘त्यो बहुलाएको कुकुर हुनुपर्छ ।’

बहुलाएकै कारण मानिस र घरपालुवा कुकुरलाई जथाभावी टोकेको आशंका रहेको उनको भनाइ छ ।

उनले गाउँमा आतंक फैलाउने कुकुरका धनी फेला नपरेको बताए ।कुकुरले टोक्दा बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राई घाइते भएका छन् ।

वृद्धवृद्धामध्ये पदमबहादुरको मुख, सावित्रीको दाहिने हात र तीघ्रा, धनमायाको दाहिने नाडी तथा तुलसी र दिलबहादुरको मुखमा गहिरो चोट लागेको प्रवक्ता राईले बताए । अन्य घाइतेको शरीरका विभिन्न भागमा चोट छ ।

जथाभावी टोक्दै हिँडेको कुकुरलाई भने स्थानीयले नियन्त्रणमा लिएर मारिदिएका छन् । त्यो कुकुरले गाउँका अन्य ४ वटा घरपालुवा कुकुरलाई समेत टोकेको राईको भनाइ छ ।

बेवारिसे कुकुरले टोकेका गाउँका अन्य कुकुरको व्यवस्थापनका लागि नगरप्रहरीसहितको टोली परिचालन गरिएको थियो ।