विराटनगर/ कोेशी प्रदेशमा कारोबार बढ्न थालेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणमा कोशी प्रदेशमा अघिल्लो वर्षको तुलनामा अबैध गाँजाको कारोबार मुद्दाको सङ्ख्या बढेको देखिएको हो ।  लागु औषध तथा गाँजा ओसारपसार र कारोबारीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कमा देखिन्छ ।

एकै वर्षमा दोब्बर भन्दा बढी गाँजा प्रहरीले बरामद गरेको छ ।

  पछिल्लो तिन वर्षको तथ्याङ्कलाई केलाएर हेर्ने हो भनेँ आर्थिक वर्ष २०७८/०७९ मा २ हजार २१ किलो गाँजा बरामद गरेको प्रहरीले २०७९/०८० मा त्यो सङ्ख्या दोब्बर भन्दा बढी भएर ५ हजार ८१५ किलो गाँजा बरामद गरेको थियो ।

गत आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कमा यो सङ्ख्या बढेर १० हजार ४२० किलो गाँजा बरामद भएको छ । यो सङ्ख्या हरेक वर्ष दोब्बरले बढेको देखिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए ।

आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार २१० रोपनीमा लगाइएको २२ लाख ९६ हजार ९७२ बोट गाँजा प्रहरीले नष्ट गरेको छ। ब्राउन सुगरको कारोबारी पनि बढेको देखिन्छ ।

गत वर्ष २ किलो ७९ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले यो वर्ष ३ किलो ८८० ग्राम बरामद गरेको छ। प्रहरीले विभिन्न मनोद्विपक चक्की गत वर्ष २७ हजार ६१८ बरामद गरेकोमा यो वर्ष ३ गुणाले बढेर ७८ हजार ३३७ क्याप्सुल बरामद गरेको छ ।  

प्रहरीको तथ्याङ्कले हरेक वर्ष मुद्दा दर्ता र मानिस पक्राउ पढ्दै गएको छ। पछिल्लो ३ आर्थिक वर्षलाई हेर्ने हो भनेँ अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ६२ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा ८ हजार ७ सय २४ र गत आर्थिक वर्ष २०८०/०८१को असार मसान्तसम्म ९ हजार ३ सय ८७ मुद्दा दर्ता भएको देखिएको छ ।

मानिस पक्राउ पर्ने क्रम पनि मुद्दा दर्ताको अनुपातमा नै रहेको छ। अघिल्लो आर्थिक वर्षमा ६ हजार ८०९ जना पक्राउ परेकामा गत आर्थिक वर्षको असार मसान्तसम्म ७ हजार १५८ जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक  भीमबहादुर दाहालले जानकारी दिए । 

प्रहरीले सार्वजनिक गरेको अपराधका घटनाहरूको विवरणमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सामाजिक अपराध १ हजार ५७४ रहेर पहिलो नम्बर रहँदा आत्महत्या दोस्रो नम्बरमा देखिएको छ।

आत्महत्या १ हजार ५५४, लागु औषध १ हजार ३९, बैङ्किङ कसुर १ हजार ४ वटा मुद्दा दर्ता भएको पाइएको छ। चोरी तथा डाँका ७५३, जबरजस्ती करणी ५१७, ठगी  २८५वटा घटना हुँदा कर्तव्य ज्यानमा ११६ वटा मुद्दा दर्ता भएको प्रहरीको वार्षिक प्रतिवेदनले देखाएको छ।  

जबरजस्ती करणी उद्योग ११३, किर्ते सम्बन्धी ४४, साइबर अपराध २४ वटा एकै वर्षमा दर्ता भएका छन् । साइबर अपराध सम्बन्धी उजुरीहरू आर्थिक वर्ष २०८०/०८१ बाट प्रहरीले जिल्लाबाट नै लिन थालेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेशमा मानव बेचबिखनको तथ्याङ्क भनेँ घटेको छ ।

आर्थिक वर्ष २०७८।०७९ मा १५ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा १४ र गत आर्थिक वर्ष २०८०/०८१मा ११ वटा मात्र दर्ता भएको जानकारी दिइएको थियो । गत वर्षको भन्दा यो वर्ष मानव बेचबिखनमा ३ वटा मुद्दा कमी भएको प्रहरीले जनाएको छ ।

  प्रदेश भित्र प्रहरीले जरिवानाबाट एक वर्षमा ८६ करोड ४८लाख २९ हजार ४२९ रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ।