इलाम/ आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेनटिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार पूर्वी नाका काकडभिट्टाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ ।

सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ। सोही नाकाबाट ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको जनाइएको छ।

सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो । यसैगरी ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जनाए ।