मोरङ/ मोरङको मिक्लाजुङ गाउँपालिका–१ झण्डेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ ।

रमिते–टाँडी सडक खण्डमा दुर्घटना हुँदा बेलबारी नगरपालिका–१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको हो ।

शनिबार दिउँसो ३ बजेतिर रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी सुस्मिताको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारी मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परेको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल झरेको थियो ।