खोटाङ/ झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनी डाँडा ढपक्कै ढाकिएको छ ।

प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनी डाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीय स्थल ककनी डाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ ।

लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनी डाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।

प्राकृतिक रूपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बिचबिचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाईकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ ।

हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनी डाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्बिर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रूपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ ।

यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्ने गरी तयारी गरिएको छ ।

यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्राम स्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनी डाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ ।

निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनी डाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग) को प्रवेश स्थलमा पर्दछ ।

किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गम स्थल हलेसी र ककनी डाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ ।

सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्दुम ट्रेलको प्रवेश स्थलमा अवस्थित ढुङ्गैढुङ्गाले बनेको रमणीय स्थल ककनी डाँडामा निर्माण सुरु गरिएको रक गार्डेनलाई महत्वका साथ हेरिएको छ ।

लामो समयदेखि प्रयोगविहीन ककनी डाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माण सुरु गरिएपछि स्थानीय बासिन्दा पनि हर्षित बनेका छन् ।

ककनी डाँडामा रक गार्डेन निर्माण सुरु गरिए लगत्तै आसपासका जग्गा घडेरीका रूपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। उनले भने, “निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्य स्थल बनेको छ ।

रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन । निर्माण सम्पन्नपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ । यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”

फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेरा बाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेस्टुरेन्ट, प्रमुख प्रवेशद्वार, शौचालय, टिकट काउन्टर निर्माण गरिएको छ ।

निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमशृङ्खला, छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट अवलोकन गर्न सकिन्छ ।

रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रूपमा विकसित हुन थालेको छ । हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्य पहाडी लोक मार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामबाट हुँदै आउन सकिन्छ ।

तराईका जिल्लाबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामबाट तथा धरान–धनकुटा–भोजपुर–चखेवा भञ्ज्याङ–दिक्तेल हुँदै पनि यहाँ आउन सकिन्छ भने मध्य पहाडी लोक मार्गअन्तर्गत जयरामबाट–हलेसी सडकबाट रक गार्डेन पैदल २०–२५ मिनेटमा र सवारीसाधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

रक गार्डेन सम्पन्न गर्न रु पाँच करोडभन्दा बढी लाग्ने गरी डिपिआर तयार भएको नगर उपप्रमुख रमेश राउतले जानकारी दिए।

“रक गार्डेन निर्माणमा अहिलेसम्म करिब रु तीन करोड खर्च भइसकेको छ ।

निर्माणाधीन अवस्थामै पर्यटकको रोजाइमा परेकाले निर्माणको कामलाई तीव्रता दिएका छौँ”, उनले भने, “अहिले रक गार्डेन आवतजावत गर्ने सडक ढलान भइरहेको छ ।

सडक ढलानको काम सम्पन्न भएपछि सहजरुपमा आवतजावत गर्न हुन्छ ।”

तीन तहका सरकारको संयुक्त लगानीमा रक गार्डेन निर्माण गर्ने गरी स्तरोन्नति थालिए हो । नगरपालिकाभित्र पर्ने सबै पर्यटकीय स्थलको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताए । उनले भने, “हाम्रो नगरपालिकाभित्र विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुमलगायत दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल छन् ।

ती सबै धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति एवं प्रवर्द्धन गरिरहेका छौँ”, उनले भने, “नगरपालिका धार्मिक तथा पर्यटकीय स्थललाई समेटेर क्युआर कोड विकास गरिरहेका छौँ । यसभित्र धार्मिक तथा पर्यटकीय स्थलको परिचय, महत्त्व, विशेषता, दूरीलगायत विषय समेटिनेछन् ।

यसले बाहिरबाट आउने पर्यटकका लागि यहाँका धार्मिक तथा पर्यटकीय स्थलका बारेमा बुझ्न र घुम्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

नगरपालिकाले सुरु गरेको पर्यटन प्रवर्द्धनका कामप्रति प्रदेश तथा सङ्घीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् ।

रासस