धरान/ देशैभर  डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेपछि जनजीवन प्रभावित भएको छ । 

 इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेर जनस्वास्थ्यमा प्रभाव परेको जनाइएको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताउनुभयो ।

७५ वटा जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

यस वर्ष अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ । पानी जम्ने सफा ठाउँमा ’एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्ने लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गी रोग लाग्दछ । काठमाण्डौ जिल्लामा चार सय २१ जना, भक्तपुर ५८ र ललितपुरमा ७९ जनामा  डेङ्गी सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ’लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

  यस्तै महाशाखाकाअनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाण्डौ, प्यूठान, मकवानपुर र कैलालीमा हैजाका बिरामी भेटिएको बताउनुभयो ।

उहाँकाअनुसार ललितपुरमा ४७, काठमाण्डौमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ ।