धरान/  जब आकाशमा कालो बादल मडारिन थाल्छ, धरानका खहरे आसपासका स्थानीयहरु त्रसित हुन्छन ।

दिउँसोको समयमा भन्दा पनि उनीहरुलाई राती निन्द्रा नै लाग्दैन । बाढीले धनजनको क्षति पुर्‍याउने भाे  भन्ने त्रासमा उनीहरु छन् । गत बिहीवार भारी बर्षासंगै खहरेमा आएको बाढिले घर, सडक कटान गरेर जीर्ण बनेपछि सुनसरीको धरानका खहरे करिडोरका स्थनीयहरु चिन्तित बनेका छन  । 

बाढीले एक स्कुले बिद्यार्थीले ज्यान गुमाउनु पर्‍यो भने करोडौको क्षति ब्यहोर्नु पर्‍यो । जिर्ण बनेको घर टहरा फेरी बाढि आएर बगाउला कि भन्ने पिरले उनीहरुलाई सताउने गरेको छ ।

अझै पानी पर्ने सम्भावना टरिसकेको छैन  आधा दर्जन बढी वडाका स्थानीयहरु ढुक्क बस्न सकिरहेका छैनन उनीहरुमा त्रास कायमै छ ।

खहरे करिडोरमा घर भएकी कमला राई विहीबार आएको बर्षाले आफू बसेको टहरामा क्षति पुर्‍याएपछि अर्कैको घरमा शरण लिँदै आएकी छन् ।

सरकारले बाढी पहिरो नियन्त्रणका लागि केही गरिदिए हुन्थ्यो भन्ने आशमा बसेको उनी सुनाउछिन् उनी भन्छिन्-‘बर्षेनी खहरेले कटानी गर्ने क्रम बढ्दै गएको छ, गत विहीबार आएको भारी बर्षाले धेरै बस्ती प्रभावित बनाएको छ, म पनि अहिले अर्काको घरमा शरण लिन पुगेकी छु ।’

उनीमात्र हैन स्थानीय कौशिला श्रेष्ठ र लाक्पा श्रेष्ठको भनाई पनि उस्तै छ । बाढीको बेला उर्लिएर आएको खहरे खोलाले कुन बेला क्षति पुर्‍याउने त्रासमा बाच्नुपर्ने अवस्था रहेका उनीहरु बताउँछन् ।

विहीबार आएको अविरल बर्षाले धरान १३ मा भएको क्षतिको विवरण सकलन गर्ने काम भइरहेकाे धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लले बताए ।

उनले यहाँको वस्तुस्थिति बुझन खानेपानी मन्त्री आफै आएकोले दीर्घकालीन समस्या समाधानमा पहल गर्ने आश्वासन दिनुभएको बताए ।

उनले भने–‘अस्ति आएको भारी बर्षाद् के कति क्षति भयो अझै एकिन गर्न सकिएको छैन, क्षतिको विवरण प्राप्त हुनसाथ सरकारबाट सहयोगको आश्वासन आएको छ ।’

अनुगमनमा आउनु भएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसीका प्रमुख आनन्द झाले पुरा क्षतिको विवरण आइसकेपछी पीडितलाई राहत र पुन: निर्माणको कामलाई सुरु गर्ने बताए । 

बाढीले पुर्‍याएको क्षति निरिक्षण गर्दै खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले पीडितलाई राहत र पुन: निर्माणको लागि सरकार गम्भिर रहेको बताए ।

तत्कालाई पुन: निर्माण कार्य सुरु गर्ने मन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

उनले भने-बाढीको क्षतिको विवरण आइसकेपछि प्रदेश सरकारमा विवरण पेश गरेर समाधानका उपायहरु खोज्ने प्रयास हुनेछ ।’

पछिल्लो समय खहरे अतिक्रमणको चपेटामा पर्दै गएको छ । अतिक्रम गरेर बसोबास गर्ने क्रम नरोकिएका कारण जोखिम पनि उत्तिकै बढ्दै गएको छ ।

यसको नियन्त्रणको प्रयास कही कतै हुन सकेको छैन । यसले गर्दा भविष्यमा ठूलै क्षतिको सामना गर्नुपर्ने अवस्था समेत आउन सक्ने सम्भावना बढ्दै गएको पाइएको छ ।