धरान/ अविरल बर्षाका कारण  कोशी प्रदेशमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढी र पहिरोमा परी   एक हजार ६५० परिवार विस्थापित भएका छन् ।  

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार विभिन्न स्थानमा भएको बाढी र पहिरोले १३ जना घाइते भएका छन् ।

८ जना अझै बेपक्ता छन् ।  विपत्तिबाट ५ सय ४२ घर प्रभावित भएका छन् । ५९ स्थानमा सडक अवरोध भएको प्रहरीले जनाएको छ । यस्तै १९ वटा पक्की घरमा क्षति पुर्याएको छ ।

अन्य ३९ वटा घर पूर्णरुपम भत्किएको उहाँले जानकारी दिनु भयो ।

भोजपुरमा ४ पाँचथरमा र ओखलढुंगामा एक एक गरि ६ वटा सरकारी कार्यालयहरु पूर्ण रुपमा क्षति भएको बताइएको छ । बर्षाको समयमा ४ वटा सवारी साधानलाई क्षति पुर्याएको छ ।

पक्की पुलसहित १३ वटा पुल तथा कल्भर्टहरु भत्किएका छन् । उद्धार तथा मानविय सहयोगका लागि प्रदेश भरी एक हजार ९२ प्रहरीहरु परिचालन गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले जानकारी दिनु भयो ।

उद्धार पुनर्निमाण र सहयोगका लागि हाल प्रहरी सक्रिय रहेको उहाँले जानकारी दिनु भयो ।

२२ स्थानको सडक अवरोध हटाइसकिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

यसैवीच देशैभर बाढी र पहिरोमा परी  १ सय ४८ जनाको ज्यान गएको छ ।नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्।

बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्।

काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ।