झापा/ चार महिनादेखि बेपत्ता झापा बाह्रदशी गाँउपालिका–५ का राजेश ठाकुरको हत्यापछि शव गाडिएको आशंकामा प्रहरीले खोजी तीब्र बनाएको छ ।

प्रहरीले शुक्रबार पनि खोजीका लागि जमिन खनेको छ । बिहीबार घरेलु औजारले जमिन खने पनि शुक्रबार भने एक्जाभेटर प्रयोग गरेर प्रहरीले जमिन खनेर खोजतलास थालेको छ । 

स्थानीय २१ वर्षीय राजेश ठाकुरको हत्यापछि शव गाडेको हुनसक्ने आशंकाले प्रहरीले शुक्रबार पनि घरको आँगनको भागमा खन्ने काम गरिरहेको छ ।

बिहीबार राति ८ बजेसम्म घरभित्र खनेर शव खोजिएको थियो । शुक्रबार पनि प्रहरीले गाउँपालिकाको एक्जाभेटर प्रयोग गरेर शव खोजिरहेको छ । तर अहिलेसम्म शव भेटिएको छैन ।प्रहरीले शव खोज्न घरभित्र एक्जाभेटर प्रयोग गर्न ठाकुरका आफन्तले आग्रह गरिरहेका छन् ।

प्रहरीले घर बाहिर मात्र एक्जाभेटर प्रयोग गरेको भन्दै आक्रोसित आफन्तहरूले आफैं घर भत्काएर शव निकाल्ने बताइरहेका छन् ।

गत जेठ १५ गतेदेखि बेपत्ता ठाकुरलाई स्थानीय गणेश राजवंशीले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

छिमेकी गणेश राजवंशी र उनकी भाउजू मुना मेचे राजवंशीले हत्या गरेर आफ्नो घर–आँगनमा शव गाडेको आशंका गरिएको छ ।

आफ्नी आमा मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको मुनाकै छोरा नरेशले प्रहरीलाई बताएको स्रोतले जानकारी दियो । गत जेठ १५ गते एउटा फोन कल आएपछि साइकल लिएर हिँडेका ठाकुर फर्किएनन् ।

घटनामा संलग्न भएको आरोप लागेका गणेश दुबईमा छन् । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।

मुना र नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । उत्खननका क्रममा राजेशले लगाएको लुगा, नुनका खाली प्याकेटहरू र एउटा दाउ भेटिएको प्रहरी स्रोतले बतायो ।