इटहरी/  १३ वर्ष विदेशमा काम गरेपछि नेपालमै बसेर केही गर्ने सोँच बोकेर फर्केका इटहरीका छत्र लकाई खड्काले सफारी चलाउन थाले ।

विगत डेढ वर्षदेखि उनी विद्युतीय रिक्सा (सिटि सफारी) चलाउँदै आएका छन् । तर उनी अरु सफारी चालकभन्दा भिन्न छन् । 

उनले असक्त, जेष्ठ नागरिक तथा शारीरिक अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क गन्तव्यमा पुर्याइदिने गरेका छन् । उनले सफारीमा लेखेरै टाँसेका छन्, ‘आफ्नो लागि साधना अरुको लागि सेवा ।

यस सिटी सफारीमा यात्रा गर्नुहने असक्त जेष्ठ नागरिक बुबा आमाहरु तथा शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई भाडामा १०० प्रतिशत छुट गरिएको जानकारी गर्दछु । सेवा गर्ने अवसर दिनु भएकोमा धन्यवाद ।’ 

उनले यसो गर्न थालेको दुई महिना हुन लाग्यो । त्यसबिचमा ३० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई गन्तव्यमा पुर्याइदिएका छन् ।

त्यसवापत उनी पैसा लिँदैनन् । ‘वृद्ध, अशक्तहरु घाममा साह्रै दुःख गरेर हिडेको देखेपछि मैले आफूले सक्ने सहयोग गर्न थालेको हुँ,’ उनले भने, ‘पैसा तिर्नुपर्छ भनेर कतिपय चाहिँ चढ्न खोज्नुहुन्न,’ उनी भन्छन्, ‘पैसा लाग्दैन बस्नु भनेर पुर्याइदिन्छु ।’

उनको यस्तो सामाजिक भावनाको धेरै यात्रुले प्रसंसा गरेका छन् । उनी पनि नेपालमै बसेर काम गर्न पाएकोमा खुसी छन् ।

‘विदेशमा सेक्युरेटी गार्डमा ८ वर्ष काम गर्दा निकै जोखिमको सामना गरेँ, यहाँ त परिवारसँग बसेर काम गर्न पाइएको छ, मेहेनत त जता पनि गर्नु नै पर्छ,’ उनी भन्छन् ।