धरान/ विभेद र कलंक बिरुद्ध दुई महिना सम्म बिभिन्न कार्यक्रम गरेर बायो–इथिक्स दिवस २०२४ मनाईएको छ ।
मानव जीवन,समाज र चिकित्सासेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित् यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध प्रतियोगितात्मक कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो ।
यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको गरिएको छ ।
यो बर्ष सम्पन्न वैज्ञानिक लेखमा बिपिकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी रिचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी काजल यादव; कवितामा जानकी मेडिकल कलेजकी उजमा हुस्सेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र सर्ट मूभिमा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूह राष्ट्रिय छनौटबाट यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइएको छ ।
समापन कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे जानकारी दिए ।
उनले बायो इथिक्सबारे छलफल, अध्ययन, मन्थन र मननका यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जानुपर्ने धारणा राखे । डा शाक्यले यस वर्षको नाराले समाज र हाम्रो ब्यवहारमा ब्याप्त विभेद, हेय र कलंक सजगतापुर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको बताए ।
नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी संकायका सदस्य द्वय मानश्वी आचार्य र रजनी नेउपानेले सञ्चालन गर्नुभयो ।
मूल नेपाल एकाईका सदस्य डा. अशोक ऐर्को विविध नीतिगत सिद्धान्त सहित यस वर्षको नाराबारे प्रस्तूति रहयो । विद्यार्थी संकायकी अक्षता वस्तीले यस वर्षको नाराबारे टिप्पणी गरे ।
कार्यक्रममा निर्णायक मण्डलबाट प्रा.डा. रिता खड्का तथा विद्यार्थी संकायका हेड प्रशान्त सापकोटाको पनि मन्तब्य रहेको थियो ।
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।