बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बिहीबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै आयोजक धरान फुटबल क्लबले शनिबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।
प्रतियोगितामा भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेत सहभागी हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन् ।
प्रतियोगिताको २५ औं संस्करणको अवसरमा उद्घाटन समारोह विशेष हुने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा विद्यालयहरुको मार्च पास, ८० जनाको समुहको विशेष नृत्य र ५ पाउण्डको केक काट्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिए ।
चर्च ब्वाइज युनाइटेड काठमाडौ र नेपाल पुलिस क्लब काठमाडौले उद्घाटन खेल खेल्दैछन् । माघ १९ गतेदेखि २६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता चल्नेछ ।
पुरस्कार राशी प्रायोजनबाटै
प्रतियोगिताको पुरस्कार राशीहरु प्रायोजनबाटै प्राप्त हुने भएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपैया धरान बहराइन एकता समाज र धरान समाज युकेबाट प्रायोजन हुने र दोस्रो पुरस्कार ५ लाख रुपैया क्लबका शुभचिन्तक अरुण राईले पोर्चुगलबाट प्रायोजन गरिदिने भएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन् ।
त्यस्तै गरी प्रत्येक खेलको म्यान अफ द म्याच धरानको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले, प्रतियोगिताको उत्कृष्ट खेलाडी केन्द्र लिम्बूले पोर्चुगलबाट र विधागत उत्कृष्ट ७ जनालाई केल्मे ब्राण्डले प्रायोजन गरेको छ ।