धरान/ विज्ञान, प्रविधिमा नेपाललाई नयाँ उचाइमा पुर्याउने वैज्ञानिक डा. महावीर पुनलाई धरानस्थित भिक्टोरी आवासीय माध्यमिक विद्यालयले भव्य सम्मान गरेको छ।
विद्यालयले उहाँलाई स्वागत गर्दै ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ पुस्तकका १२९ प्रति खरिद गरी सहयोग गरेको हो।
विद्यालयका डाइरेक्टर विनोद राईका अनुसार, विद्यार्थीलाई प्रेरित गर्न र डा. पुनको योगदानबारे जानकारी दिन पुस्तक खरिद गरिएको हो।
विद्यालयका सञ्चालक समिति सदस्य विनोश सुच्चा राईका अनुसार, यी पुस्तकहरू आर्थिक रूपमा कमजोर विद्यार्थी, सामाजिक संघ-संस्था र असहाय बालबालिकालाई निःशुल्क वितरण गर्ने योजना छ।
वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नाङ्गी गाउँमा जन्मिएका डा. पुन नेपालका अग्रणी वैज्ञानिक तथा नवप्रवर्तक हुनुहुन्छ।
उच्च शिक्षा पूरा गरेपछि उहाँले दुर्गम क्षेत्रमा प्रविधि पु¥याउने अभियान सुरु गर्नुभयो।
उहाँले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी नेपालमा विज्ञान, प्रविधि र अनुसन्धानलाई अगाडि बढाइरहनुभएको छ।
हाल वीरगन्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालन अभियान मा संलग्न रहनुभएका पुनलाई यसै अभियानका लागि सहयोग जुटाउन धरान आउनुभएको थियो।
धरानकै प्रतिष्ठित भिक्टोरी विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री सिकाइ र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको छ। विद्यालयले विद्यार्थीलाई वैज्ञानिक सोच र अनुसन्धानतर्फ प्रेरित गर्न यो सम्मान कार्यक्रम आयोजना गरेको हो।
डा. पुनलाई सम्मान गर्दै डाइरेक्टर विनोद राईले भने, "विद्यार्थीहरूले उहाँको जीवन, संघर्ष र विज्ञानमा समर्पणबाट प्रेरणा लिउन् भन्ने हाम्रो उद्देश्य हो।"
यसअघि पनि डा. पुन धरानका विभिन्न कार्यक्रमहरूमा सहभागी भए पनि विद्यालयस्तरबाट गरिएको यो सम्मान विशेष मानिएको छ। विज्ञान, प्रविधि र अनुसन्धानलाई प्रवर्द्धन गर्न यस्ता गतिविधिले थप योगदान पुर्याउने विद्यालयले विश्वास लिएको छ।
डा. पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा वैज्ञानिक नवप्रवर्तनमार्फत सामाजिक रूपान्तरणको अभियान जारी राखेको छ। उहाँका अनुसार, "नेपालको समृद्धि अनुसन्धान र आविष्कारमै निर्भर छ, त्यसैले यसलाई उच्च प्राथमिकता दिनुपर्छ।"
यो सम्मान कार्यक्रमले धरानमा विज्ञान, प्रविधि र नवप्रवर्तनको सम्भावनालाई थप उजागर गरेको छ।
तस्बिरहरू :