भोजपुर/भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा आइतबार राति एकै परिवारका चार जनाको बीभत्स हत्या गर्ने राजेन्द्र राईको अवस्था गम्भीर बनेको छ। 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईको पेटमा गहिरो चोट लागेको छ र उनको अवस्था गम्भीर छ। प्रारम्भिक उपचार भोजपुर अस्पतालमा गरिएको भए पनि अवस्था जटिल भएकाले उनलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ।

राजेन्द्रले आफ्नै ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार चक्कु प्रयोग गरी हत्या गरेका हुन् ।

घटनालगत्तै आइतबार राति १ः१५ बजे अभियुक्त राजेन्द्र राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरी ‘मान्छे मारेको छु, मलाई समात्न आउनु’ भन्दै जानकारी गराएका थिए ।

उक्त सूचना पाएपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी निरीक्षक अशोक खवासको टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरी टोलीले राजेन्द्रलाई रामप्रसादराई–१ स्थित हुर्बु भञ्ज्याङको सडक किनारमा पेटमा तीन स्थानमा चक्कु लागेर गम्भीर घाइते अवस्थामा फेला पारेको थियो ।

प्रारम्भिक बयानमा राजेन्द्रले आफूलाइ पत्नीको आमाले चक्कु प्रहार गरेपछि प्रतिकारस्वरूप ससुरा बेलबहादुर गिरी९६८०, सासु मञ्जु गिरी ९४५०, श्रीमती र सालोलाई चक्कु प्रहार गरी मारेको स्वीकार गरेका छन् ।

चारै जनाको शव एउटै कोठाभित्र रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय घोडाटारबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा ७ सदस्यीय टोली घटनास्थल पुगिसकेको छ ।

घटनाले सम्पूर्ण स्थानीय क्षेत्र शोकाकुल बनेको छ । प्रहरीले घटनालाई अत्यन्तै गम्भीर मानेर अनुसन्धान अघि बढाएको जनाएको छ ।