विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडाले एक परिवारलाई रगताम्य बनाएको छ।
अंश विवादकै कारण एक बोल्न नसक्ने महिला टीकामाया कार्की बस्नेत (६०) को आफ्नै देवर टंकबहादुर बस्नेत (६९) ले हत्याको जघन्य घटना घटाएका छन्।
टीकामाया इसाराले कुरा गर्ने शारीरिक रूपमा अशक्त महिला थिइन्। उनलाई असार २१ गते दिउँसो बारीमा घाँस काट्न गएका बेला मृत अवस्थामा फेला पारिएको थियो।
पोस्टमार्टम रिपोर्टमा घाँटीको भागमा गहिरो चोट देखिएपछि इलाका प्रहरी कार्यालय सिजुवाले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार टंकबहादुरले हँसियाको बिँड प्रहार गरी भाउजू टीकामायाको हत्या गरेका हुन्। घटनामा प्रयोग भएको हँसिया समेत उनको घरबाट बरामद गरिएको छ। टंकलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मृतकका पति गणेशबहादुर बस्नेत र टंकबहादुरबीच पुर्ख्यौली सम्पत्तिको बँडफाँटको विषयमा लामो समयदेखि विवाद थियो। अदालतले दाजु गणेशलाई पनि अंश पाउने ठहर गरेपछि टंक आक्रोशित बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
डीएसपी कोपिला चुँडालका अनुसार टंकले पहिले पनि भाउजूलाई गालीगलौज गर्दै कुटपिटको प्रयास गरेका थिए। "हामीसँग त्यसका प्रमाणहरू छन्। अहिले थप प्रमाण संकलन भइरहेको छ," उनले भनिन्।
टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गर्दै थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।