झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमबार राति सामूहिक कुटपिटको घटनामा परी एक २२ वर्षीया युवतीले ज्यान गुमाएकी छन्। मृतक अर्जुनधारा–४ भाङवारीकी गङ्गा राई हुन्, जो शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन्।

घटनाको जड श्रीमान–श्रीमतीबीचको विवादबाट सुरु भएको हो। गङ्गा राईको कोठामा आफ्ना श्रीमान् रमेश भुसाल गएको थाहा पाएपछि, रमेशकी श्रीमती सुस्मिता भुसालले रिसको झोकमा साथीहरू बोलाएर सामूहिक आक्रमण गराएकी थिइन्।

सुस्मितासँगै ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासले गङ्गामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी गङ्गालाई शनिश्चरेस्थित शंकर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। तर, उनको अवस्था जटिल बन्दै गएपछि सोमबार राति १ः२० बजे निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ।

घटनामा संलग्न सुस्मिता भुसाल, उनका श्रीमान रमेश भुसालसहित अन्य पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि भद्रपुर पठाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।