धरान/ देशभर एसईईको नतिजाले सामुदायिक विद्यालयको औसतमा सुधार देखिए पनि धरानका अधिकांश सरकारी विद्यालय अझै कमजोर नतिजामै सीमित छन्।
तर, यही भीडमा धरान–१२ स्थित पब्लिक हाईस्कुल भने टाउको उठाउँदै जिल्लामै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
यो विद्यालयबाट एसईई दिएका ८४.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जसमध्ये १७ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथिको नतिजा ल्याएका छन्। यसले पब्लिक हाईस्कुललाई धरानका अन्य सामुदायिक विद्यालयभन्दा अग्रपंक्तिमा उभ्याएको छ।
विद्यालयका प्राचार्य डा. इन्द्र मोहन झा भन्छन्, “यो लज्जास्पद अवस्था होइन, तर अधिकांश सामुदायिक विद्यालयले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।”
उनका अनुसार पब्लिक हाईस्कुलको सफलतामा विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन — चारै पक्षको योगदान छ। विगतमा ३ बज्दासम्म घर फर्किसक्ने शिक्षकहरू अहिले रातिसम्म काममा व्यस्त छन्। पढाइको शैली, समय व्यवस्थापन र मूल्यांकन प्रणालीमा व्यापक सुधार गरिएको छ।
पब्लिक हाईस्कुलमा हाल कक्षा १२ सम्मको पढाइ सञ्चालनमा छ। कक्षा ११ का लागि अहिले ७ सयभन्दा बढी विद्यार्थी भर्ना प्रक्रियामा छन्। ताप्लेजुङदेखि सप्तरीसम्मबाट विद्यार्थीहरू यसै विद्यालयमा पढ्न आइरहेका छन्।
विद्यालयले इन्ट्रान्स अनिवार्य गरेको छ। पहिलो चरणको प्रवेश परीक्षामा ५९४ विद्यार्थी सहभागी भएका थिए, जसमा ४६५ जना उत्तीर्ण भएका छन्। अब दोस्रो चरणको इन्ट्रान्स पनि सञ्चालन हुँदैछ, किनकि धेरै अभिभावकले ढिलो सूचना पाउँदा पछि आउने गरेका छन्।
गुणस्तरीय शिक्षा, न्यूनतम शुल्कमा
पब्लिक हाईस्कुलले विषय अनुसार फरक सहयोग शुल्क लिने गर्छ।
• साइन्स: रु. २७,०००
• कम्प्युटर साइन्स: रु. ३३,०००
• होटल म्यानेजमेन्ट: रु. २३,०००
अन्य विषयको शुल्क १६ हजारदेखि ३३ हजार सम्म छ। प्राचार्य झाका अनुसार, "एक रुपैयाँ पनि अतिरिक्त शुल्क १२ कक्षासम्म लिइँदैन।"
भर्ना गराउने सबै विद्यार्थीलाई निःशुल्क अनिवार्य पुस्तक वितरण गरिएको छ।
प्राचार्य झाले सामुदायिक विद्यालयहरूमा शून्य नतिजा आउने अवस्थाबारे टिप्पणी गर्दै भने, “पब्लिकले राम्रो गरेपछि सबैले पनि गर्न सक्नुपर्छ। त्यसका लागि विद्यालयहरूबीच मर्जको बहस पनि आवश्यक छ।”
उनका अनुसार सामुदायिक शिक्षाको पुनर्जागरण सम्भव छ, तर त्यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय प्रशासन — चारै पिलर बलियो हुन आवश्यक छ।