मोरङ/  मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका–६ स्थित नहर किनारमा अन्दाजी ३०–३५ वर्ष उमेरकी एक अज्ञात महिलाको शव सडिएको अवस्थामा फेला परेको छ।

शवको पहिचान हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार शव असार २८ गते फेला परेको हो। शव गन्हाउने अवस्थामा भेटिएकाले घटना केही दिनअघि भएको अनुमान गरिएको छ। घटनास्थलमा मृतकले प्रयोग गरेको लुगा पनि फेला परेका छन्, जसका आधारमा पहिचानमा सहयोग हुने प्रहरीको विश्वास छ।

जिल्ला प्रहरी कार्यालय मोरङले ती कपडाहरू सार्वजनिक गर्दै शवको पहिचान खुलाउन सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

“शवको पहिचान खुलाउन मद्दत पुग्ने कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क राख्न अनुरोध गर्दछौं,” प्रहरीले जानकारी दिएको छ।

हाल शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।