बिहीबार सम्पन्न धरान उपमहानगरपालिको सातौ कार्यपालिका बैठकले धरानको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने महत्वपूर्ण एजेन्डालाई प्राथमिकतामा साथ अगाडि बढाएको छ ।

बैठकमा धरानको पर्यटन प्रवर्धनका लागि मापदण्ड पुगेका होटल तथा बार राति १२ बजेसम्म सञ्चालनका गर्न दिने विषयले प्राथमिकताका पाएको थियो । छलफलपश्चात कार्यपालिका बैठकले यसलाई सकारात्मक रुपमा लिएर धरानका लाउन्ज एण्ड बार मापदण्ड अनुसार चलेका छन् या छैनन् भन्ने विषयमा अनुगमन गर्न धरान २ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा सात सदस्यीय मापदण्ड अध्ययन तथा अनुगमन समिति गठन भएको छ । 

समितिमा सदस्यमा वडा नं. १० का वडाध्यक्ष विवेक राई, वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, १६ नं. वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, कार्यपालिका सदस्य दिनेश गजमेर, विकास भाटी, सिर्जना नेपाल रहेका छन् ।

धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यो एजेन्डालाई कार्यपालिकाको बैठकमा समावेश गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । नेपालको पश्चिममा रहेको पोखरा मापदण्ड पुगेका होटलहरु सञ्चालन भएकै कारण पोखरा नेपालकै पर्यटकीय क्षेत्र भएको बताउदै धरानलाई पनि पोखराजस्तै विकसित गर्नका लागि यो एजेन्डालाई प्राथमिकताका साथ उठाएको बताए । उनले भने– ‘हामीले यो विषयलाई कार्यपालिका बैठकमा प्राथमिकताका साथ उठायौ, उठाएको विषयवस्तु सकारात्मक रुपमा अगाडि बढेको छ, यसको लागि मापदण्ड अध्ययन तथा अनुगमन समिति बनेको छ, यो समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छ ।’

उनले यो अनुगमन समितिले सुरक्षासम्बन्धी निकायसँग समन्वय गर्ने, छलफल समेत गर्ने बताए । उनले भने ‘धरानमा सञ्चालन भएका लाउन्ज एण्ड बार मापदण्ड अनुसार सञ्चालन भए नभएको अनुगमन गर्ने र सिडिओ, प्रहरी, प्रशासनसँग छलफल गर्नेछ ।’

रात्रीकालीन होटल सञ्चालनका लागि होटलमा साउन्ड प्रुफ बनाउनपर्ने, प्रदूषित रहित हुनुपर्ने, प्रशस्ता पार्किङको व्यवस्था हुनुपर्ने, होटलमा सुरक्षाको व्यवस्था हुनुपर्ने, मादक पदार्थ खाएर घर जान नसेकोलाई घर पुर्‍याउने व्यवस्था, घर जान नचाहेकालाई त्यही लजको व्यवस्था गर्ने लगायतका २२ मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

उनका अनुसार मापदण्ड पूरा गरेका सुविधा सम्पन्न होटलहरुमा मात्र यो लागू भएपनि साधारण होटलहरुलाई भने साविककै १० बजेसम्म सञ्चालन गर्न पाउनेछन् । यसैगरी धरान ८ को सभागृहलाई व्यवस्थित बनाउने, धरान १७ दीपेन्द्र आधारभूत स्कुलको स्नरोन्ति, धरान २० विष्णुपादुकामा साबुन फ्याक्ट्री खोल्ने लगायतका निर्णयहरु समेत भएका छन् ।